प्रदेश सरकारले गर्यो नयाँ कामको सुरुवात

अब आफै यातायात सञ्चालन गर्ने

प्रदेश नम्बरका ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात तथा पारवहन सम्बन्धी विधेयक आएपछि प्रदेशको यातायात क्षेत्रको सुधार हुने बताएका छन् । विधेयक आइतबार बस्ने प्रदेशसभा बैठकमा टेबुल हुने उनले जानकारी दिए ।

शनिबार बुटवलमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकाले सार्वजनिक, विद्युतीय र पर्यटकीय बस सेवा सञ्चालन गर्ने पनि जानकारी दिए ।
प्रदेश सरकारले सार्वजनिक प्राधिकरण सञ्चालन गरेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर यातायातका साधन सञ्चालन गर्ने उनको भनाई छ ।

निजी क्षेत्रसँगको प्रतिस्पर्धाले यातायात क्षेत्र गुणस्तरीय भई जनतालाई सजिलो हुने उनले बताए । प्रदेश ५ मा ११ हजार २ सय ३३ किलोमिटर सडक रहेको जानकारी दिँदै मन्त्री चौधरीले सबै सडकमा सार्वजनिक यातायातले सुविधा दिनु पर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले छाडा चौपायाले गर्दा सवारी दुर्घटना बढ्दै गएको भन्दै सोको नियन्त्रणमा आम सरोकारवालाको ध्यानाकर्षण गराए ।