फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी

सतर्क रहन आग्रह

भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट जारी गर्दै पछिल्लो ३ घण्टामा नेपालको मध्य क्षेत्र खासगरी चितवन, मकवानपुर र काठमाडौं उपत्यका लगायतको क्षेत्रमा वर्षा भइरहेको जनाएको छ । यसको सामान्य प्रभाव नेपालगन्ज पनि देखिएको छ ।

महाशाखाले प्रदेश ५ र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यम सम्म वर्षा हुने देखिएकोले उल्लेखित क्षेत्रहरुमा सतर्कता जरुरी रहेको बताएको छ।

यस अघि महाशाखाले फानी चक्रवात नेपालतर्फ आउने सम्भावना नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शनिबार सम्म मौसम प्रभावित हुने बताएको थियो।

हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। शुक्रबार र शनिबार हावाहुरीसँगै वर्षा र चट्याङ पर्न सक्ने तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना रहेकाे जनाएका छन् । आइतबार देखि मात्रै माैसममा सुधार हुने उल्लेख गरेका छन्।