लिभिङ टुगेदरको कमाल, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !

वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ ।

नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ । चार वर्षदेखि अवैध रुपमा एउटै कोठामा बस्दै आएका दुवैबीच बेलामौका झगडा पर्ने गरेको बताइएको छ ।

कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको र विकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पुराइएको समाचारहरूमा जनाइएको छ ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक ४ मा बस्दै आएका थिए । माया घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन् जसले मालिकको घर छोडेर विकसँग सँगै बस्थिन् ।

विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरेको छ ।