सुर्खेत बिरेन्द्रनगरका तीन पानी कम्पनीमा शिलबन्दी
बिरेन्द्रनगर,सुर्खेतका तीन वटा पानी कम्पनीमा शिलबन्दी गरिएको छ । आइतबारको अनुगमनमा दुइवटा कम्पनीमा शिलबन्दी गरेको प्रशासनले सोमबार थप एक कम्पनीमा शिलबन्दी गरेको हो ।
वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो । त्यसैगरी जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने संचालन नभएको पाइएको छ ।
मापदण्ड पूरा नगरी संचालन गरेकोले, गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताए ।
पिउने पानी सम्बन्धि निदेशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सुचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने निरीक्षक थापाले उल्लेख गरे ।
मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेतले उत्पादन गरेको पानीको जार भित्र केही दिन अघि मात्र झिँगा फेला परेको थियो ।
आइतबार खाद्य निरीक्षक थापाकै नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. पिपिरा सुर्खेतमा शिलबन्दी गरेको हो ।
मापदण्ड विपरित संचालन गरेकोले गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको उनले जानकारी दिए ।