जम्बो टोली बोकेर चीन भ्रमणमा उक्लिदै राष्ट्रपति
नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दैछिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा करिब ८० जनाको जम्बो टोली बोकेर राष्ट्रपति भण्डारी चीन प्रस्थान गर्न लागेकी हुन् ।
उनी बिहान ११ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतका विशिष्ट व्यक्तिहरु समेत सहभागि हुने भएका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको भ्रमणकै क्रममा दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर पनि हुनेछ ।
राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।