एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट

एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको एनसेलले लाभकर नतिर्ने भन्दै सर्वोच्वमा रिट हालेको हो ।

एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेले बालुवाटर बस्ने २६ वर्षीय प्रसन्न श्रेष्ठलाई वारेस राख्दै सोमबार रिट दायर गरेका हुन् । सर्वोच्चले एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख कर निर्धारण गरी एक साताको समय दिएको थियो ।

ठूला करदाताको नयाँ निर्धारणअनुसार एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ लाभकर तिर्नुपर्नेछ । तर, यसअघि कर तथा विलम्ब शुल्कसहित २३ अर्ब ५७ करोड ४२ लाख ७५ हजार ५ सय ६६ भुक्तानी गरिसकेकाले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भएको हो। ठूला करदाता कार्यालयले कर निर्धारण गरेको सूचना एनसेलले बैसाख ३ गते नै बुझेको थियो ।