नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) ‘नेपाली स्याट वन’ अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २:३५ मा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ। बिहीबार बिहानै कार्गो विमानले जापान र श्रीलङ्काका भू–उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो।

बर्डस्–३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू–उपग्रह अन्तरिक्षमा पठाइएको हो। सानै आकारको भए पनि नेपाली भू–उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू उपग्रह प्रक्षेपण भएकोमा खुशी व्यक्त गर्दै निर्माणदेखि प्रक्षेपणसम्ममा सहभागी व्यक्ति र निकायलाई धन्यवाद दिएका छन्।