विप्लवलाई वार्तामा आउन उर्जामन्त्री पुनको आग्रह

उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी भएर अघि बढौं ।’

उनले पहिले राजाले जस्तो एउटै वंशले राज्य सञ्चालन गर्ने समय नभएको बताए । उनले जनताले छानेकाहरुले नै राज्य सञ्चालन गर्ने भएकाले सहमतीमा आउन आग्रह गरेका हुन् । जलजला घोषणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका पुनले कार्यक्रममा यस्तो बताएका हुन् ।

देशभरीबाट छानिएका १०० गन्तव्यमा रोल्पाको जलजला पनि समावेश छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित जलजला क्षेत्रमा चैत्र–वैशाखमा लागिगुँरास, असोज–कात्तिकमा अन्य विभिन्न प्रजातिका फूलहरु फुल्ने गर्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न घोषणा कार्यक्रम गरिएको हो ।

घोषणा कार्यक्रममा सभामुख ओमसरी घर्ती, प्रदेश सांसद दीपेन्द्र पुनलगायतका अतिथी सहभागी थिए । जिल्ला समन्वय समिति रोल्पाको आयोजना र थलाङ गाउँपालिकाको सहआयोजनामा घोषणा कार्यक्रम गरिएको हो ।