वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू
“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणाहरू छन् – एक, बौद्धिक शिक्षा, दुई शारीरिक विकास र ती पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ ।
– कार्ल माक्र्स
शिक्षा मानव चेतना समृद्ध बनाउने आधार हो तर त्यही आधार जब एक देशमा दुई तरिकाले जनतामा प्रदान गरिन्छ, तब प्रष्ट वर्गीय असमानताहरू समाजमा देखिन्छ र राज्यको सन्तुलित विकास हुन सक्तैन । पछिल्लो समयमा नेपालको शिक्षा क्षेत्रमा देखिएको विभेदले हाम्रो आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ । सरकारी÷सामुदायिक विद्यालय र निजी विद्यालयहरूमा पढ्ने पढाउने विषय गरिब र धनीहरूको पहिचान बन्नेजस्तो विषय बन्न पुगेको छ ।
सरकारी÷सामुदायिक विद्यालयहरू गरिबको विद्यालयजस्तो र निजी विद्यालयहरू धनीहरूको जस्तो भएको छ । एकातिर धुलोमैलो, पुरानो फाटेको र अर्कोतिर सफा सुग्घर, नयाँ तथा एकातिर नेपाली माध्यम अर्कोतिर अङ्ग्रेजी माध्यम । पहिलोबाट पढाइ सकाएर ज्यामी, मजदुर, किसान जस्तो र अर्कोतिरबाट पढाइ सकाएर डाक्टर, पाइलट, इन्जिनियर, व्यापारी राज्यसञ्चालक बन्नेजस्तो अवस्था छ ।
सरकार विद्यालयबाट राम्रो पढे पनि आर्थिक हैसियत राम्रो नहुँदा प्रतिभा–क्षमता माथि आउन सक्ने अवस्था छैन । छात्रवृत्ति कोटाहरू पनि घुमाई फिराई पहुँचवाला र हैसियत भएकाहरूका लागि जस्तो भएको छ । यी सबै कारणहरूले नेपाल र नेपाली जनताको अवस्था दिन–प्रतिदिन कमजोर, दयनीय बिजोगपूर्ण भएको छ । देशमा चरम प्रकारको गरिबी, बेरोजगारी, भ्रष्टाचार र अनियमितताले गर्दा युवा क्षमता–प्रतिभा विदेश पलायन भएको छ ।
देशमा बँचेखुचेको पनि निराश र आफ्नो स्वार्थमा मात्र केन्द्रित जस्तो भएका छन् । देश, जनता, समाज र आफ्नो स्वतन्त्रतासँग कुनै मतलब छैन । मात्र आफ्नो स्वार्थ पूरा भए हुने जस्तो भएको छ । आखिर यी सबै विषयको मूल कारण शिक्षामा भएको असमानता, विभेद र चरम निजीकरण नै हो ।
शिक्षा, स्वास्थ्य, रोजगार राज्यको दायित्व हुनुपर्नेमा हाम्रोमा यी विषयलाई व्यापार र निजी स्वार्थको विषय बनाइनु किमार्थ सही होइन । आफूलाई समाजवाद–उन्मुख राज्य भन्नेहरूका लागि त यो भयानक लज्जाको विषय हुनुपर्ने हो । बुर्जुवाहरूले समेत शिक्षा, स्वास्थ्य, रोजगारलाई राज्यको दायित्व बनाइरहेको आजको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायमा हामीले काम गर्न नसक्नु अब सामान्य विषय रहेन । यो व्यवस्था असफलताको पराकाष्ठा हो ।
यो हामीले लिएको राजनीतिक–वैचारिक खराबीको कारणले आएका परिणाम हुन् । यसमा यसको विकल्पको रूपमा हामीले वैज्ञानिक समाजवादी व्यवस्था र त्यसलाई सफल बनाउन अहिलेदेखि नै भोलिको आधारको रूपमा रहेको शिक्षालाई वैज्ञानिकीरण गर्न जरुरी छ, जसलाई हामीले वैज्ञानिक समाजवादी शिक्षा भनेका छौँ । हामी सबै हिसाबले असफल भइसकेको दलाल संसदीय व्यवस्था र त्यसको आधारको रूपमा रहेको पुरानो शिक्षा प्रणालीको समूल नष्ट गरी वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवाद लागू गर्न चाहन्छौँ ।
त्यसैले हामी २१ आँै शताब्दीमा आफ्नो राष्ट्रको आवशयकता र विश्व परिवेश थेग्न सक्ने वैज्ञानिक समाजवादी शिक्षाको विषयमा गम्भीर बहसमा छौँ । आउनुस् हामीले सुरुआत गरेको यो बहसमा सबैको हातेमालोबाट देशको जकडिएको शिक्षा प्रणाली र प्रविधिलाई नयाँ ठाउँ र उचाइ प्रदान गर्न सबैले सामूहिक प्रयास गरौँ । हामीले वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू भनेर केही विषयहरू नेपालको आवश्यकताको सन्दर्भमा छलफलमा ल्याएका छौँ ।
जसको समग्र चर्चा निम्नानुसार गरिएको छ
(क) विचार–दर्शनसँग जोडिएको शिक्षा
आजसम्म हामीले लिँदै आएको शिक्षा विचार–दर्शनको हिसासबले हेर्दा र पुँजीवादी निम्न बुर्जुवा जनशक्ति उत्पादन गर्ने खालको छ । मानिस जति शिक्षित र समृद्ध हुँदै जान्छ, ऊ विस्तारै श्रमबाट कट्दै जाने र श्रमिक, मजदुरहरूको अपमान गर्ने परनिर्भरताको ठाउँमा पुग्दछ । यो विचार–दृष्टिकोणमा आएको पतनका कारणले हुने समस्या हो । त्यसकारण हामीले विकास गर्ने शिक्षामा विचार–दृष्टिकोणका हिसाबले कम्युनिस्ट, क्रान्तिकारी, श्रम र सिर्जनाको सम्मान गर्ने संस्कारको अनुशरण गर्ने तथा नयाँ मानव तयार गर्ने सर्वहारावर्गीय सामूहिकतामा आधारित शिक्षा आजको आवश्यकता हो, जुन वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव छ ।
(ख) उत्पादनसँग जोडिएको शिक्षा
हामीले परिकल्पना गरेको शिक्षा देशको श्रमशक्ति र उत्पादन क्षेत्रहरूसँग नङ र मासुजस्तै गरी जोडिएको श्रम र श्रमिकहरूको सम्मान गर्ने उत्पादनमुखी आफ्नो आवश्यकताहरू पूरा गर्न सक्ने स्वावलम्बी बनाउन सक्ने शिक्षा आवश्यक छ ।
(ग) शारीरिक विकास र राष्ट्रियतासँग जोडिएको
हाम्रो शिक्षा हाम्रा बालबालिका तथा युवाहरूको सन्तुलित शारीरिक, मानसिक विकास र आफ्नो सुरक्षा आफैँ गर्न सक्ने शारीरिक अभ्यासमा आधारित हुन जरुरी छ, जुन राष्ट्रियताको भावनाले ओतप्रोत होस्, आफ्नो देशको माटो र जनतालाई माया गर्ने तथा आवश्यक परेको बेला राष्ट्रको हरतरहले सेवा गर्न सक्ने शिक्षाको जरुरी छ । किनभने हामी दुई ठूला देशको बीचमा भूपरिवेष्ठित अवस्थामा छौँ । त्यसले सबै किसिमको सङ्कटमा धैर्यवान् रहेर त्यसको सामना गर्न सक्ने नैतिक तागत भएको शिक्षा हाम्रो आवशयकता हो ।
(घ) विज्ञान र प्रविधिसँग जोडिएको शिक्षा
आजको युग डिजिटल युग हो । एकीकृत भौतिक विज्ञानको आविष्कारले दुनियाँ मुट्ठीमा कैद गर्न सम्भव भएको विश्वपरिवेशमा हाम्रो शिक्षमा विज्ञान र विविध पर्याप्त मात्रामा समावेश भएको, अभ्यास र आविष्कार गर्न सक्ने गरी विज्ञान र प्रविधिलाई जोड्नुपर्दछ । यसले मात्र राष्ट्र र विश्वपरिवेशको आवश्यकता र हाम्रो सार्थक उपस्थितिलाई सम्बोधन गर्दछ ।
(ङ) देशको आवश्यकता सम्बोधन गर्न सक्ने शिक्षा
हाम्रो शिक्षाले विगतमा हाम्रो अपुगताहरूलाई सम्बोधन गर्न सक्ने र हाम्रो प्राकृतिक स्रोत साधनहरूको भरपूर सदुपयोग गर्न सिकाउनुका साथै, हाम्रो मानवीय क्षमतालाई देशको आफ्नो आवश्यकतामा प्रयोग गर्न सकिने गरी शिक्षामा समावेश गरिनु जरुरी छ, जसले आत्मनिर्भर देश बनाउन मद्दत गर्नेछ ।
(च) मौलिक, सभ्यता, संस्कारको जगेर्ना गर्न सक्ने शिक्षा ः
हाम्रो शिक्षाले पुराना रुढीवादी समाज र पुरातन विचारको अन्त्य गर्ने नयाँ सोच र मूल्य–मान्यताको नयाँ समाज निर्माण गर्ने सक्ने क्षमता बोकेको शिक्षा हुनुपर्दछ । शिक्षा सधैँ नयाँ मूल्य र मान्यता स्थापित गराउन सक्ने प्रगतिशील तथा हरेक किसिमका जडताबाट मुक्त भएको हुनुपर्दछ । जुन हामी वैज्ञानिक खोज–अनुसन्धानमा आधारित बहुसङ्ख्यक श्रमजीवी जनताको हितलाई सम्बोधन गर्न सक्ने व्यवस्थाको आधार हुनुपर्दछ ।
यसरी पुराना मूल्य–मान्यताको आधारमा वर्गविभाजन गराउने मुट्ठीभर शासकहरूको जयजयकार र दलाली गर्ने पुँजीवादी व्यवस्थाको जगको रूपमा रहेको अहिलेको असमान र अवैज्ञानिक तथा अनावश्यक शब्द र सूत्रजालमा जकडिएको शिक्षाको विकल्पमा सम्पूर्ण मानव समुदायको सेवा गर्ने त्यस्तो वैज्ञानिक समाज, जहाँ मानिस समाजलाई आफ्नो सम्पूर्ण क्षमता मानवहितमा लगाउँछ, आफ्नो आवश्यकता त्यही समाजवाद निर्वाध रूपमा प्राप्त गर्दछ । त्यस्तो वैज्ञानिक समाजवादको आधारमा सिर्जना गर्न सक्ने वैज्ञानिक समाजवादी शिक्षाका लागि हामी सबै कम्युनिस्ट क्रान्तिकारी युवाहरूले आ–आफ्नो क्षेत्रमा खोज, अनुसन्धानका लागि आफूलाई समर्पित गराऔँ, हाम्रो उज्यालो भविष्य सन्निकट उभिएको छ ।
लेखक अनेरास्वबियु (क्रान्तिकारी)का केन्द्रिय महासचिव हुनुहुन्छ ।