राष्ट्रघाती नागरिकता विद्येयक तत्काल खारेज हुनुपर्छ – अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् ।

उनले भने,‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भिर र गलत कुरा हो । तत्काल खारेज गर्नुपर्छ ।’

संसदबाट विद्येयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर रहेको बताउँदै उनले यसमा आफ्नो पार्टीको आपत्ति रहेको सुनाए । उनले उक्त विद्येयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘यस्तो खालको विद्येयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं, र विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित् छ ।’ नेपालमा कांग्रेस, एमाले, माओवादी र राप्रपा जसको नेतृत्वमा सरकार बनेपनि सबैले विदेशीहरुलाई नागरिकता दिने बाटो खोलिदिएको पनि केसीले आरोप लगाए ।

संसदमा प्रस्तुत भएअनुसार विद्येयक पारित भए विदेशीहरु वा आगन्तुकहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख, प्रधानन्यायाधीशलगायत महत्वपूर्ण पदमा पुग्ने बाटो खुल्नेपनि उनले टिप्पणी गरे । उनले भने,‘त्यसैले यो विद्येयक कुनैपनि हालतमा पारित गर्नुहुँदैन् । खारेज गर्नुपर्छ ।’

आफ्नो पार्टीले उक्त विद्येयकविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गर्ने पनि अध्यक्ष केसीले जानकारी दिए । उनले भने,‘विद्येयकको विरोधमा हामीले हस्ताक्षर अभियानको सुरु गरिसकेका छौं ।’ अहिलेपनि नेपालको संघीय संसदमा दर्जनौं अंगीकृत नागरिकको प्रतिनिधित्व रहेको उनको भनाई छ ।

उनले उक्त विद्येयकको विरुद्धमा आफ्नो पार्टीलगायतले चैत्र २४ गते काठमाडौंमा बृहत्त जुलुश निकाल्ने तयारी गरिसकेको पनि जानकारी दिए । उनले थपे,‘देश डुब्ने स्थिति छ, त्यसैले हामी सबै सचेत नागरिक, बुद्धिजीवीहरु एक भएर विद्येयकको विरोध गर्नुपर्छ । सरकारलाई दबाब दिनुपर्छ ।’ केसीले गैरआवासीय नेपालीहरुलाई पनि दोहोरो नागरिकता दिन नहुने स्पष्ट पारे ।