नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत

महासचिवमा कांग्रेस निकट पौडेल विजयी

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरंको संगठन बृहत् लोकतान्त्रिक समूह (डिएलए)का सुनील कुमार पोखरेललाई एक सय ४९ मतले पछि पार्दै उनी बारको अध्यक्ष बनेका हुन्।

नेपाल बार एशोसिएशनको शनिबार भएको २५औं केन्द्रीय कार्यसमितिको चुनावमा एनएलएका श्रेष्ठले ४ हजार २२ मत र डिएलएबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत ल्याएका छन्।

महासचिवमा भने डिएलएका लिलामणी पौडेल विजयी भएका छन्। उनले ४ हजार १ सय ७८ मत ल्याएका छन्। एनएलएबाट महासचिवका उम्मेदवार सुरेन्द्र बहादुर थापाले भने ३ हजार ६ सय १ मत ल्याएका छन्। २५ जनाको केन्द्रीय कार्यसमितिमा एनएलएबाट अध्यक्ष सहित २२ र डिएलएबाट महासचिव सहित ३ जनाले जित हात पारेका छन्।