भेरीको बीच भागमा पार्क निर्माण तयारी – स्थानियबासीको चिन्ता

डोल्पा : दुनै, ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय पार्क निर्माणप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्। बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलव नगरी बीच टापुमा पार्क निर्माण सुरु गरिएपछि कर्णाली प्रदेश सरकारको करोडौँ बजेट बर्खाको भेलमा बग्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएकाे हाे।

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हिसावमा पार्क निर्माण कार्य जिल्लाबासीको लागि खुशीको कुरा भए पनि केही महिनापछि नै देखिने जोखिमलाई ख्याल नगरी निर्माण कार्य सुरु गर्नु दु:खत भएको स्थानीय ओम मगरले बताए। पार्क निर्माणका अन्यत्र सुरक्षित ठाउँ भए पनि नदीको बीच टापुमा करोडौं लगानी गरेर पार्क बनाउने सपना देख्नु औचित्य नभएकाले यसबाट प्रदेश सरकारको करोडौँ बजेट बालुवामा पानी खन्याए जस्तै हुने उनको दाबी छ।

प्रत्येक वर्ष भेरी नदीले आफ्नो मार्ग फराकिलो बनाउँदै गएकाले जोखिमको ख्याल नगरी बीच टापुमा करोडौ रकम खर्च गरेर पार्क निर्माण कार्य सुरु गर्नु राम्रो कुरा नभएको सरोकारवाला निकायले बताएका हुन्। पार्क निर्माण भइसकेपछि नदीको बहाव एकातिर मात्रै जाने दायाँतिर को बस्ती नै जोखिममा पर्ने बताउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा लिखित तथा मौखिक रुपमा गुनासो समेत गरेका थिए।

सो विषयमा बिहीबार छलफल गर्दा तटबन्द गरेर बस्तीलाई सुरक्षित बनाउनु दिनु पर्ने निचोड निक्लेको प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए। पार्कको निर्माण कार्य सुरु भए पनि धेरै लगानी नभएकाले सकभर अर्को कुनै सुरक्षित ठाउँ खोजेर निर्माण कार्य सरोकारवालाको माग छ।

यता निर्माण समितिका अध्यक्ष्य अर्जुन हिराचनका अनुसार दुनै बजार नै वर्षौदेखि असुरक्षित भए पनि अहिलेसम्म त्यस्तो अकल्पनीय क्षति नभएकाले पार्क निर्माण सुरक्षित तरिकाले निर्माण गरिने बताए। ‘भेरी नदीको बायाँतिर पानीको बहाव कम भएकाले त्यतातिर नै पार्क निर्माण सुरु गरिएको छ।

भनेजस्तै जोखिम छैन’ उनले भने, भविश्यमा हुने प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न सक्दैन।’ नदीको बीच टापुमा पार्क बनाउन स्थान कसरी छनोट गरियो भन्ने कुरा आफूलाई थाहा नभएर प्रदेश सरकारलाई नै थाहा हुने उनको भनाइ छ। नदीको बीचमा पार्क निर्माणका लागि ३ वडा कार्यालयले समेत स्वीकृति दिएको छ।

पार्क निर्माणका लागि आव २०७५/०७६ मा प्रदेश सरकार उद्योग, पर्यटन बन तथा बन मन्त्रालयले एक करोड रकमा विनियोजन गरेको छ। सो रकमबाट पहिलो चरणको काम सुरु गरिएको निर्माण समितिले जनाएको छ। योजना क्रमागत भएकाले निर्माण कार्य सम्पन्न हुन्जेलसम्म नौदेखि दश करोडसम्म खर्च हुने मन्त्रालयको अनुमान छ।