जनताको पीडालाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावा हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीकाे तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

पूर्व प्रधानमन्त्री दाहालले हावा हुरीको मारमा परेका फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा क्षति पुगेका घरहरुको निर्माण गरिदिने सरकारले निर्णय गरेको पीडितलाई बताए । घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै जनताको पीडालाई सम्बोधन गर्न सिंगो मुलुक तयार रहेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले हावाहुरीले नष्ट भएका बालिनालीको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार बिहान पुगेका थिए । त्यसक्रममा उनले नारायणी क्षेत्रीय अस्पताल, नेशनल कलेजमा पुगेर घाइतेहरुसँग भेट गरेका थिए ।