दृष्टि
आँखा नहुनु पनि
सुनौलो अवसर लाग्छ मलाई,
न त कसैलाई आँखामा सजाउनु नै पर्छ
न त कसैलाई आँखामा राखेर बगाउनु नै पर्छ ।
कुनै आँखामा, यी आँखा ठोक्किएर
चाहेर नि नपाउँदाको वेदनाले
कोमल मेरो मनभरी बन्नेछैनन् पिडाका घाउ ।
तिमी दुई आँखाले
छुट्टाउछौ मानिसको रङ्ग,
तुलना गर्छौ तथाकथित सौन्दर्य,
म तर
भित्री एकल आँखाले हेर्छु
र पाउँछु मानिसको एकै रङ्ग
र एकै अपराजित सौन्दर्य ।
कुनै बिरानो र कुरुप सहर
कुनै पुरानो र कुरुप बगर
सबै-सबै आफ्नै र सुन्दर लाग्छ मलाई ।
मानिसहरुको दयामा खै कुन्नी के मिसिएको हुन्छ १
त्यो दया त्यति टिकाउ हुँदैन,
जति टिकाउ, मेरो आफैंप्रतिको विश्वास हुन्छ,
म चाहन्छु बाँच्न, उभिएर आफ्नै पैतालामा
र चाहन्छु आफ्नै पौरखमा टिक्न ।
सबै कोणबाट, सबै दिशा उस्तै
रङ र आकृति विहिन म जस्तै
जहाँ एकमा एक थपे पनि शुन्य नै हुन्छ
एकको पछिल्तिर शुन्य थप्ता पनि शुन्य नै हुन्छ
म विलिन हुन्छु त्यसैमा पूरा अनन्त ।
तसर्थ,
आँखा नहुनु पनि
सुनौलो अवसर लाग्छ मलाई,
न त कसैलाई आँखामा सजाउनु नै पर्छ
न त कसैलाई आँखामा राखेर बगाउनु नै पर्छ ।