फर्किए प्रचण्ड श्रीमती सीताको उपचार गराएर

श्रीमती सिता दाहालको उपचारका लागि दश दिनअघि अमेरिका गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले श्रीमती सीताको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । पिएसपी भन्ने रोगबाट पीडित सीताको अमेरिकाको तीन स्थानमा उपचार गराइएको बताए ।

दाहालले भने, ‘तीन ठाउँमा अनुसन्धान र उपचारको काम गरौं । स्वास्थ्यको समस्याबारे चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान भयो ।’

उनले श्रीमतीको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि बोकेर आएको जानकारी दिए । दाहालले अमेरिका भ्रमणका क्रममा राजनीतिक भेटघाट समेत भएको जानकारी दिए । उनले नेपाली समुदायसँग सकारात्मक कुराकानी भएको बताए ।

मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत, त्यहाँका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको उल्लेख गरे ।

उनले आफू प्लेनमै रहेका बेला मेरिल्याण्डमा आफ्नाविरुद्ध द्वन्द्वकालका विषय लिएर उजुरी गरिएको जानकारी पाएको बताए । उनले अब पार्टी एकताको कामले तीव्रता पाउने दाबी गरे ।