यस्तो छ किर्ते हस्ताक्षर सम्बन्धि पत्रकार महासंघ बाँकेको धारणा

नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा पत्रकार सम्मेलन गरी पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाबाट लिएको रकममा कुनै घोटला नभएको प्रमाण सार्वजनिक गरेको हो ।

महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा तथा बर्तमान बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल लगायतको नाममा किर्ते हस्ताक्षर गरी उपमहानगरपालिकाबाट रकम लिएको समाचारको महासंघले खण्डन समेत गरेको छ ।

किर्ते हस्ताक्षरका बिषयलाई लिएर योजनाबद्ध रुपमा समाचार प्रकाशित गर्दै महासंघलाई बद्नाम गराउन खोजेपछि पहिलो पटक महासंघले सडकमै पत्रकार सम्मेलनको आयोजना गरी बास्तविकता सार्वजनिक गरेको जनाएको छ । ‘नेपाल पत्रकार महासंघ बिशुद्ध पत्रकारको मात्र नभई समग्र समाजको अगुवा संस्था हो । महासंघका बिरुद्धमा गरिएका अर्नगल प्रचारबाजी र भ्रम तोड्न पहिलो पटक सडकबाटै बास्तविकता सार्वजनिक गरेको छु’ पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले भने, ‘अब हाम्रा सदस्य र समाजका अगुवाले महासंघका बिरुद्ध छरिएका भ्रमलाई होइन प्रमाणलाई बिश्वास गर्नुहुनेछ ।’

नेपालगन्ज उपमहानगरपालिकासंग महासंघले कुनै पनि कार्यक्रमका लागि सम्झौता नगरेको अध्यक्ष थारुले बताए । उनका अनुसार पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष समेत रहेका उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई मार्फत मिडियाका लागि पत्रकारिता सम्बन्धी कार्यक्रममा महासंघले सहकार्य गरेको थियो । ‘उहाँ हाम्रो सल्लाहकार समेत भएकाले बिश्वासका आधारमा महासंघले पत्रकारिताको विकासका लागि सहकार्य गरेको थियो ।’ अध्यक्ष थारुले भने, ‘पत्रकारिताक्षेत्रको विकासका लागि यसो गर्नु नयाँ काम थिएन ।’ महासंघले उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाईसंग मिडिया दिगो विकास कार्यक्रमका लागि रु. १ लाख, युवाहरुलाई आधारभुत विकास पत्रकारिता तालिमका लागि रु. १ लाख १० हजार ५ सय, सन्चारगृह तथा प्रकाशनको अवस्थाका लागि रु ७१ हजार, सन्चारमाध्यम अनुगमनका लागि रु ५० हजार, वडा अध्यक्षहरुलाई सन्चार अभिमुखिकरणकालागि रु. ६० हजार गरी जम्मा ३ लाख ९१ हजार ५ सयको सहकार्य गरेको थियो । तर, महासंघले प्रेस सल्लाहकार चौलागाईमार्फत् कार्यक्रम गरेबापत् ३ लाख ३५ हजार मात्र लिएको छ । ‘हामीले जति कार्यक्रम गरेका थियौं । त्यसको मात्र खर्च गरेका थियौं । ती सबै कार्यक्रमको विवरण र बिल भरपाई सम्झौता गरेकै पक्षबाटै फछ्यौट भएका कारणले महासंघको कुनै संलग्नता छैन’ थारुले भने, ‘हामीले नत कसैको किर्ते हस्ताक्षर गरेका छौ नत फर्जी काम नैं । बिल भरपाइ फछ्यौट गर्ने जिम्मेवारी सम्झौता गर्ने पक्षकै हो ।’

महासंघका अध्यक्ष थारुले कस्ले, कस्को किर्ते गरेर उपमहानगरपालिकाबाट रकम निकासा गर्यो भन्ने यथार्थ बुझ्न पनि सार्वजनिक रुपमै अपील गरेका छन् । ‘महासंघले उपमहानगरपालिकासँग कुनै पनि सम्झौता नगरे पनि महासंघलाई विवादित बनाउनु दुखद कुरा हो,’ उनले भने ।

वस्तुनिष्ट, सत्य तथ्य र सन्तुलित समाचार प्रकाशित गर्नका लागि उनले आग्रह गरे । साथै उनले नेपाल पत्रकार महासंघको विधान आचारसंहिता, कार्यान्वयन गर्न सुझाव दिए । उनले पत्रकार महासंघको गरिमा घट्ने कुनै काम नभएको बताउँदै आगामी दिनमा पेशागत तथा भौतिक सुरक्षा मात्र होइन सामाजिक आन्दोलनमा पनि सक्रिय हुने बताए ।