मन्त्रिमण्डल पुनर्गठनको खिचडी पाक्दै वालुवाटारमा

सबैमन्त्री फेरबदल गर्न प्रचण्डको प्रस्ताव

बालुवाटारमा फेरपनि मन्त्री फेरबदलकाे खिचडि पाक्न सुरू भएकाे छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको हाे ।

यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताएपछि यो विषय पुनः चर्चामा आएको हो ।

ओली र प्रचण्डबीच ठुलाे मतभेद

मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा चर्चा शुरु भएसँगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भने मतभेदका संकेतहरु देखिएका छन् । मन्त्रीमण्डल पुर्नगठनजस्तो विषयमा पार्टीभित्र औपचारिक छलफल नभएकोमा अरु शीर्ष नेता पनि असन्तुष्ट छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुर्नगठनबारे भनेका थिए, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, त्यसमा भर पर्छ । प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’

यसबाहेक प्रचण्डको भनाई थियो, ‘प्रधानमन्त्रीजीको ‘म हेरिरहेको छु’ भन्ने भनाई रहेको छ । मैले यो तपाईंकै मूल्याङ्कनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु ।’

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू धेरै अर्थपूर्ण छन । उनका अनुसार प्रचण्डको यस्तो अभिव्यक्तिले मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र उनको सहमति जुटेको छैन भन्ने सन्देश दिन्छ । ती नेताका अनुसार प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको विषयमा उठ्ने प्रश्नबाट जोगिन नै सचेतरुपमा प्रचण्डले ‘यो काम प्रधानमन्त्रीको अधिकार’ भएको बताएका हुन् ।

बुधबारमात्रै एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा प्रधामन्त्री ओलीले पनि मन्त्रीमण्डल पुर्नगठनबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘मन्त्रीमण्डल पुर्नगठन जहिले पनि हुन सक्ने कुरा हो । तर अहिले सोचिएको छैन ।’

प्रधानमन्त्रीको यो भनाईमा पनि उनी र प्रचण्डबीच सहमति बनिसकेको छैन भन्ने स्पष्ट सन्देश छ । प्रधानमन्त्री ओली र प्रचण्डको पछिल्ला भेटमा मन्त्रीमण्डल पुर्नगठन गर्नेबारे धेरै पटक छलफल भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमानै छन् । त्यहि अनुरुप उनले प्रचण्डसँग सहमति मागेका हुन् । प्रचण्डसँगको पछिल्लो भेटमा प्रधानमन्त्रीले ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र केहीलाई हटाएर नयाँ ल्याउने प्रस्ताव राखेका थिए ।

तर, प्रधानमन्त्री ओलीले कामभन्दा अनुहार हेरेर मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव अगाडि सारपछि अध्यक्ष प्रचण्डले यो प्रधानमन्त्रीको अधिकार भन्दै पन्छिन खोजेको स्रोतको भनाई छ । यता, अध्यक्ष प्रचण्डले सबैमन्त्री फेरबदल गर्न सकिने वैकल्पिक प्रस्ताव पनि अगाडि सारेको स्रोत बताउँछ ।