‘स्वतन्त्र मधेश’ मुद्दा नछाडने सर्त सहित सीके राउतले बोलाए राष्ट्रिय परिषद् बैठक

‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् । आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले जनाएका छन् ।

यस्तो बन्दैछ रणनीति ?

बैठकमा सरकारसँग भएको सम्झौताबारे छलफल हुने बताइएकाे छ । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका २०–२२ वटा जिल्ला संगठन संयोजक लगायत हरेक जिल्लाबाट ४–५ जनालाई सहभागी गराइने जनाइएको छ ।

गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको ती नेताले बताए । ‘सहमतिप्रति मिडिया, नागरिक समाज र मधेशी जनताको प्रतिक्रिया हेरिरहेका छौं । त्यसको विश्लेषण र छलफल गरेर आगामी दिशा तय हुन्छ,’ उनले भने, ‘मधेशी जनतालाई धोका दिएका छैनौं, स्वतन्त्र मधेशको माग यथावतै छ, रणनीति अनुसार सम्झौता भएको भनेर गठबन्धनभित्र सर्कुलर गरिएको छ ।’

राष्ट्रिय परिषद् बैठकबाट सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ । सरकार र गठबन्धनबीच भएको सम्झौताको आ–आफ्नै तरिकाले व्याख्या हुन थालेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाकै कतिपय नेता कार्यकर्ताले आलोचना गरिरहेका छन् ।