आठ दिनमै एक हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनमै देशभरबाट १ हजार ४४ जना लागू औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । वैशाख ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा व्यापक धरपकड गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी कोसी प्रदेशबाट ५९३ जना रहेका छन् । त्यसपछि गण्डकी प्रदेशबाट १४०, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ६०, बागमती प्रदेशबाट ५१, लुम्बिनी प्रदेशबाट ४२, काठमाडौँ उपत्यकाबाट ४१ र मधेस प्रदेशबाट ३० जना पक्राउ परेका छन् ।

यस अवधिमा प्रहरीले ठुलो मात्रामा लागू औषध समेत बरामद गरेको छ । बरामद लागू औषधमा गाँजा १७६ किलो ५१ ग्राम १८० मिलिग्राम, चरेस १६ किलो ८०९ ग्राम ४०० मिलिग्राम, हेरोइन १ किलो ३७२ ग्राम ८६६ मिलिग्राम र पोलेन १ किलो १४२ ग्राम रहेका छन् । यस्तै, नियन्त्रित औषधिहरूमा डाइजेपाम १,२२४ एम्पुल, फेनारगन १,४१७ एम्पुल, बुप्रेनोर्फिन १,०७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २४२ ट्याब्लेट र स्पास्मो १०३ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक (डिआइजी)  तथा प्रवक्ता अविनारायण काफ्लेले लागू औषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताए । उनका अनुसार देशभरका सबै प्रहरी कार्यालयले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिरहेका छन् ।

उनले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसनले व्यक्ति र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने कार्य पनि सँगसँगै अघि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय सहित सात वटै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वयात्मक रूपमा अपरेसन सञ्चालन गर्दै आएका छन् । लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता अभियानलाई थप सशक्त बनाइने प्रहरीको भनाइ छ ।