जवानलाई ज्यामी काममा लगाउने कर्णेलमाथि कारबाही !

वलपरासी : निजी घरको पर्खाल लगाउन नेपाली सेनाका जवान प्रयोग गरेका बहालवाला कर्णेलमाथि कारबाही थालिएको छ । निजी काममा सेनालाई ज्यामी बनाएर अख्तियार दुरुपयोग गरेको भन्दै उनीमाथि सैनिक मुख्यालयले छानबिन थालेको हो ।

गैंडाकोट नगरपालिका २ स्थित प्रगती टोलमा रहेको कर्णल रविन्द्र लुइँटेलले आफ्नो १२ आना जग्गामा पर्खाल लगाउन ५८ सैनिक जवानलाई काममा लगाएका थिए । कर्णेल दोषी प्रमाणित भएमा सेनाको नियमावलीअनुसार कारबाही गर्ने उनले बताए । सेनालाई निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो ।

हात्तीखोरस्थित सेनाको वन तथा पर्यावरण निर्देशनालयका कर्णेल लुइँटेलले निजी काममा सेना प्रयोग गरेपछि स्थानीयले समेत विरोध गरेका छन् । गैंडाकोट नगरपालिकाको प्रगतिटोलमा कर्णेल लुइँटेलकी आमा रामपियारी लुइँटेलको नाममा रहेको कित्ता नम्बर ४३९६ को १२ आना जग्गामा पर्खाल लगाउन अघिल्लो साता ४ दिनसम्म सेनाका जवान खटाइएको थियो ।