सन्दर्भ सिके राउत सम्झौता – नेकपाभित्र मच्चियो खैलाबैला

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा खैलाबैला मच्चिएको छ । हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए । तर पछिल्लो समय भने दुबै पक्षले सामाजिक सञ्जालमा समेत आरोप प्रत्यारोपमा उत्रिएका छन्।

नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावलले सहमतिमा प्रयोग भएको भाषाको विरोध गरेपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल नेताहरूमाथि नै त्यही शैलीमा जवाफ फर्काएका छन्। रावलले आइतबार प्रतिनिधि सभामा समेत सहमतिको भाषालाई लिएर विरोध जनाएका थिए।

यस्ताे छ नारायणकाजी श्रेष्ठकाे अभिब्यक्ति

सहमतिमा हस्ताक्षर हुनु केही समय पहिलेमात्र राउतसँग भएको सहमतिबारे थाहा पाएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ‘नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने’, भन्दै प्रश्न गरेका छन्। उनले सहमतिलाई इङ्गित गर्दै ‘गम्भीर आत्मसमीक्षा’ गर्दै राजनीति सफा पार्नु पर्ने तर्क गरेका छन्।

यस्ताे छ भिम रावलकाे भनाइ

जानकारी होस्, देश शान्ति प्रक्रियामा रहेको बेला एमाले पार्टीले मलाई शिक्षामन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुशी अरू साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै वालुवाटारमा संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ । अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला । भन्दै टिप्पणी लेखेका छन्।

विष्णु रिमालकाे तर्क

राष्ट्रिय सभा गृहबाट सहमति घोषणा अघि बालुवाटारमा राउतसँग सहमतिका लागि भएको छलफलमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भने पार्टीकै नेताहरुलाई व्यङ्ग कसेका छन्।

‘नेताहरू  झुक्किए, फसे वा फसाईए या तिनिहरूले गल्ति नै गरे पनि कोईवात छैन’, रिमालले लेखेका छन्, ‘हामी धन्य छौं, मुलुक जोगाउने एकसे एक उहाँहरू हुनुहुन्छ। आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागि रहेको छ, उहाँहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ ?