कश्मीरमा फेरि तनाव – ६ भारतीय फौजसहित आठको मृत्यु

के हुनसक्छ सामाधान ?

भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ । आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरेको भोलिपल्ट दुई देशलाई छुट्याउने लाइन अफ कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच गोली हानाहान भएको हो । आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् । यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ ।

यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । यससँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन् ।

भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।

त्यसपछि भारतले भिडन्त भएको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पुरै बन्द गरिदिएको छ। भारतीय पक्षले जम्मु-कश्मीरमा नियन्त्रण रेखातर्फ पाकिस्तानले लगातार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ ।

आखिर अभिनन्दन रिहाइको अर्थ के ?

पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका पाइलटलाई रिहा गरेसँगै यसले भारत र पाकिस्तानबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने चर्चा हुन थालेको छ । बुधबार पाकिस्तानी आकाशमा हवाई हमला गर्ने क्रममा पाक सेनाको गोली लागेपछि पाकिस्तान प्रशासित कास्मिरमा विमानसँगै खसेका अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरेसँगै भारत–पाकिस्तान द्वन्द्व मत्थर हुने आशा गरिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गरेको बताएका छन् ।

‘पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभई तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गरेका छौँ,’ खानले भनेका छन् ।

‘अभिनन्दनको रिहाइले दुई आणविक शक्तिबीचको तनाव घटाए पनि वास्तविक मुद्दा भने जस्ताका तस्तै छन्,’ बिबिसीकी दक्षिण एसिया संवाददाता रजिनी विद्यानाथन भन्छिन् । पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो कदमले दुवै देशबीच चुलिएको पछिल्लो तनावलाई सेफ ल्यान्डिङ गर्न सघाउने उनको तर्क छ । ‘अभिनन्दनको रिहाइकै कारण द्वन्द्व अन्त्य हुने सम्भावना त छैन, तर थप चर्किनबाट जोगाउन सक्छ ।’

पाकिस्तानी विश्लेषक साद मोहम्मदका अनुसार अभिनन्दन फिर्ता पठाउने पाकिस्तानी पहलले दुई देशबीचको सम्बन्धलाई थप बिग्रनबाट जोगाएको छ । पाकिस्तानी कदमले प्रधानमन्त्री इमरान खानको व्यक्तित्व उँचो बनाएको उनको भनाइ छ । पाकिस्तानकै अर्का विश्लेषक असिफ यासिन मलिकका अनुसार भारतीय विमानचालकको रिहाइ खासै महत्वपूर्ण होइन, तर यसले पाकिस्तानलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणमा केही परिवर्तन गर्नेछ । ‘यद्यपि पाकिस्तानी पहलले भारतको निर्णय गर्ने प्रक्रियामा असर गर्नेछैन,’ उनी भन्छन् ।

विश्लेषकहरूका भनाइमा खानले शान्ति र वार्ताबाट समस्या समाधान गर्ने रणनीति लिएका छन् । तर, दुवै देश सीमामा भइरहेका गतिविधिप्रति सतर्क छन् । कास्मिर क्षेत्रमा पछिल्लो तनाव बढेसँगै दुई देशलाई छुट्याउने लाइन अफ कन्ट्रोलमा हजारौँ सेना तैनाथ छन् । युद्धको त्रासले सो क्षेत्रका हजारौँ सर्वसाधारणले घर छाडिसकेका छन् ।

को हुन् त अभिनन्दन वर्तमान ?

गत बुधबार पाकिस्तानी आकाशमा उडिरहेका दुई लडाकु विमान पाकिस्तानले गोली हानेर खसालिदिएको थियो । तीमध्ये एउटा भारत प्रशासित र अर्को पाकिस्तान प्रशासित कास्मिरमा खसेका थिए । पाकिस्तान प्रशासित कास्मिरमा विमानसँगै पाइलट अभिनन्दन वर्तमान पनि खसेका थिए । भारतीय दक्षिणी सहर चेन्नईका अभिनन्दनले विगत १६ वर्षदेखि लडाकु विमान चलाउँदै आएका छन् । भारतभर सामाजिक सञ्जालमा उनीबारे चर्चा भइरहेको छ । अधिकांश भारतीयले सच्चा हिरो भन्दै उनको प्रशंसा गरेका छन् । अन्दाजी ३५ वर्षका अभिनन्दनका बाबु भारतीय वायुसेनाका सेवानिवृत्त हुन् भने आमा चिकित्सक । सन् १९९९ को कार्गिल युद्धमा उनका बाबु एयर मार्सल थिए ।

उनको पक्राउलाई भारतले सुरुमा अस्वीकार गरेको थियो । पछि, पाकिस्तानको सूचना मन्त्रालयले उनी पक्राउको भिडियो सार्वजनिक गरी त्यसको पुष्टि गरेको थियो । भिडियोमा अभिनन्दनको आँखामा पट्टी बाँधिएको र अनुहारबाट रगत बगेको देखिन्छ । सो भिडियोपछि क्रूद्ध बनेको नयाँदिल्लीले इस्लामाबादस्थित सह–उच्च आयुक्तलाई फिर्ता बोलाएको थियो । त्यसपछि पाकिस्तानले अभिनन्दनबारे अर्को भिडियो फुटेज सार्वजनिक गरेको थियो, जहाँ उनी चिया पिइरहेका देखिन्थे । उनलाई पाकिस्तानी सेनाले शुक्रबार रिहा गरेको थियो ।