आजबाट नेपालगञ्जमा प्रादेशिक महोत्सव सुरू, यसरी निकालियो झाँकी

बाँके,नेपालगन्जमा आइतबारबाट प्रादेशिक महोत्सव सुरु गरिएको छ । फागुन १९ देखि २९ गतेसम्म चल्ने  प्रादेशिक महोत्सव आजबाट सुरु भएकाे हाे । महोत्सव उद्घाटन अघि नेपालगन्ज उद्योग वाणिज्य संघबाट निस्कने झाँकी सहितको र्याली आयोजना स्थल सडक विभाग कारकाँदो पुगेको थियाे। उद्घाटन र्यालीलाई भव्यता दिन भारतबाट ल्याइएको ऊँट समेत र्यालीमा सहभागी गराइएको थियाे। र्यालीमा विभिन्न, धर्म, समुदायको पहिचान युक्त झाँकी पनि प्रदर्शन गरिएको थियो ।

महोत्सवलाई उदघाटन गर्न नेपालगञ्ज पुगेका शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताए । महोत्सवमा बाँकेका संघिय सांसद महेश्वर गहतराजकाे समेत उपस्थिति रहेकाे थियाे ।

महाेत्सवमा अवलोकनकर्तालाई विभिन्न उत्पादकहरुका उत्पादन, कपडा, घरेलु, हस्तकलाका सामान, अटोमोबाइल्स, जडिबुटी, कृषि, इलेक्ट्रोनिक्स, होटल लगायतका स्टल, सूचना, प्रविधिका स्टल रहनेछन् भने मनोरञ्जनका लागि पिङ्ग, सांस्कृतिक तथा गीत, नृत्यका कार्यक्रमको पनि अयोजना गरिनेछ । महोत्सव उद्घाटनका दिन बिहीबार निकालिने र्यालीमा ४५ बढीको कल्चरल झाँकी प्रदर्शनी गरिएकाे थियाे । महोत्सव उद्घाटन झाँकीमा विभिन्न धर्म र जातिको पहिचान झल्कने तथा संघ, संस्थाहरु ऐक्यबद्धता जनाउन ब्यानर सहित सहभागिता रहेकाे थियाे ।

३ सय स्टल  रहेकेा महाेत्सवमा नेपाल बाहेक ५ वटा देशका स्टल पनि राखिने भएको छ । महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान तथा पिङ्ग लगायतका मनोरञ्जनका साधन पनि राखिएका छन् । स्थानीय उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट प्राप्त हुने मुनाफा संघले बहुउद्देश्यीय सभा गृह र व्यवसायिक हितका लागि प्रयोग गर्ने बताइएको छ । ५० लाख बचत गर्ने लक्ष्य राखिएको महोत्सव २ लाख बढी अवलोकनकर्ता भित्र्याउने योजना रहेको संघले जानकारी दिएको छ ।

स्वदेशी उत्पादनमा भर परौं, स्वाधिन अर्थतन्त्रको निर्माण गरौं भन्ने मूल नाराका साथ बहुउद्देश्यीय सभा गृह निर्माण र व्यवसायिक हितका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना हुन लागेको महोत्सवलाई सफल पार्न स्थानीय उद्योगी, व्यवसायी, बाँकेबासी, प्रहरी, प्रशासनबाट पूर्ण सहयोग पाउने अपेक्षा लिइएको संघले बताइएको छ ।