ट्रम्प-किम दोस्रो शिखर वार्ता : ट्रम्पले यसरी गरे किमको प्रशंसा !

उत्तर कोरियाली नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो शिखबर वार्ता भएको छ । भियतनामको राजधानी हुनोईमा बुधबारदेखि वार्ता शुरु भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उनीहरु आफ्ना सहयोगीका साथ सोही होटेलमा भोजमा सहभागी बनेका थिए ।

आजको वार्तामा सामान्य भलाकुसारीको साथै संक्षिप्तमा कुरा भएको बताइएकाे छ । भोलि हुने वार्तामा बिस्तृत छलफल हुनेछ । दुबै देशका अधिकारीहरुले बताएका छन् । औपचारिक रुपमा वार्ताअघि दुबै नेताले संचारकर्मीसँग संक्षिप्त कुरा गरेका थिए । पहिलो वार्तामा झैं दुबै नेताले हात मिलाएका थिए । ट्रम्पले संचारमाध्यमहरुकै अगाडि किमजोङको खुलेर प्रसंशा गरे । उनले किमलाई महान् नेता भन्दै उत्तर कोरियासँग ठूलो आर्थिक क्षमता भएको समेत बताए ।

राष्ट्रपति ट्राम्पले भने, “मलाई लाग्छ तपाईंको देशको ठूलो आर्थिक क्षमता छ । तपाईंको देशको लागि एकदम ठूलो भविष्य हुनेछ, तपाईं एक महान नेता हुनुहुन्छ ।” ट्रम्पले त्यसको लागि किमलाई आफूले सहयोग गर्ने समेत बताए । पहिलो वार्ता भन्दा यो पटक नेता किमजोङ पनि खुलेर कुरा गरेका थिए । उनले वार्ता सफल हुने विश्वास व्यक्त गर्दै त्यसको लागि सबै बाधाहरु हटाउन आफूहरु तयार रहेको बताए ।

भियतनाम सरकारले वार्ता स्थलको सुरक्षा व्यवस्था कडा बनाएको छ भने दुबै नेतालाई भब्य स्वागत गरिएको थियो । डिनर तथा वार्ता स्थलमा सिमित पत्रकारहरुलाई मात्रै अनुमति दिइएको थियो ।