भारतीय हमलाको कडा जवाफ दिनेछौँ : पाकिस्तानी विदेशमन्त्री

भारतीय सेनाले अन्तर्राष्ट्रिय सीमा नाघेर पाकिस्तानमा बम हानेपछि दुवै देशको सम्बन्ध तिक्तापूर्ण भएको छ। मंगलबार बिहान भारतीय सेनाले पाकिस्तानसँगको सीमारेखा पार गरेर बम प्रहार गरेको थियो। यसैबीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुता उलंघन गरेको बताएका छन। भारतले भने पाकिस्तानमा रहेको आतंकवादी संगठन जैस ए मोहम्मदको क्याम्प लाई लक्षित गरेर बम प्रहार गरेको बताएको छ।

पाकिस्तानको आकाशमा आएका भारतीय सैन्य विमानलाई त्यहाँको वायुसेनाले भगाएको पाकिस्तानी सेनाले भनेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकले भारतीय सेनाले बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय हताहती गरेको भन्ने भारतीय दाबी झूटो भएको बताएको छ। पाकिस्तानले सम्प्रभुता उलंघनको जवाफ भारतलाई उचित समयमा दिइने बताएको छ।

पाकिस्तानले भारतले हमला गरेको भनेर दाबी गरेको ठाउँमा अन्तर्राष्ट्रय संचारमाध्यमका पत्रकारलाई देखाउने तयारी गरेको छ। सुरक्षा परिषदको बैठकपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन्, ‘भारतले एकपटक फेरि आधारहीन र मनगढन्ते दाबी दिएको छ। यो यो आन्तरिक आवश्यकता पूरा गर्नका लागि गरिएको हो। भारतमा चुनाव आउन लागेको छ। यसल क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारेको छ।’ कुरैशीले थपे, ‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र जनतालाई जस्तोसुकै स्थितिका लागि तयार रहन भनेका छन।’ उनले यो पाकिस्तानको विरुद्ध आक्रमण भएको र त्यसको जवाफ दिइने बताए।