मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको गम्भीर आरोप

राजनीति गर्न मोदीले जवान मारे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गम्भीर आरोप लगाएकी छन। मुख्यमन्त्री बनर्जीले १४ फेब्रुअरीमा भारतीय सिआरपिएफका जवानमाथि भएको आतंकवादी हमलामाथि राजनीति गरेको प्रधानमन्त्री मोदी र उनको पार्टी भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाएको बीबीसीले लेखेको छ। बनर्जीले पुलवामा भएको हमलामा ४६ जना सिआरपिएफ जवानको हमला भएको र त्यसलाई भोटका लागि मोदीले राजनीति गरेको आरोप लगाएकी हुन।

बनर्जीले पुलवामा हमलाको पूर्वजानकारी मोदीलाई रहेको र त्यसलाई रोक्न कुनै पहल नगरेको आरोप लगाएकी हुन। बनर्जीले सिआरपिएफका २५ सय जवानलाई हवाइ मार्गबाट नलगेर सडकबाट पठाएको पनि बताएकी छन। उनले सुरक्षा चुनौती रहेको भन्ने जान्दा जान्दै पनि सडकमार्ग सुरक्षित नगरीकन जवानलाई पठाएको बताएकी छन। बनर्जीले भनेकी छन्, ‘मोदी सरकारलाई सिआरपिएफमाथि हमला हुन्छ भन्ने थाहा थियो। यसबारेमा गुप्तचर निकायहरूले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।

त्यो हुँदाहुँदै पनि हाम्रा जवानलाई बचाउनका लागि कुनै कदम चालिएन।’ उनले अगाडि भनेकी छन्, ‘चुनावमा जवानहरूको बलिदानीमाथि राजनीति गर्नका लागि मोदी सरकारले जवानहरूलाई मर्न दिए।’ भारतमा केही महिनाभित्र लोकसभा चुनाव हुन लागेको छ। प्रधानमन्त्रीको मोदीको कार्यकाल सकिन लागेको छ।