यस्तो देखियो हिँउले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोट

कृषकहरु भए खुशिले गदगद

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर बनेको छ। केही साता अघिसम्म सुख्खा देखिने डाडाँहरु हिँउले भरिभराउ भएपछि डाेल्पाकाे जुफाल एयरपाेर्ट हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारिएको हो।

भारी हिमपातपछि जेठमा पाक्ने गरि मंसिरमा लगायतको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै कर्णालीका कृषकहरु उत्साहित भएका छन्। खेतबारीमा लगाइएको गहुँ, जौं, उवालगायतका बालीका लागि पुस, माघमा बर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपातपछि कर्णालीका कृषकहरु धेरै उत्साहित भएका हुन्।

हिमपातले उम्रिन बाँकी अन्न बालीहरु उम्रिने र उम्रिसकेको अन्न बालीहरु बढ्ने भएपछि जिल्लाभरका कृषकहरुमा खुशी छाएको छ।
कर्णालीका अन्य जिल्लासँगै डोल्पाको त्रिपुराकोट, लिकु, माझफाल, पहाडा, करेलीकाँडा, काइगँउ लगायतका बस्तीहरुमा बाक्लो हिँउ जमेको छ। हिमपातसँगै तल्लो र उपल्लो डोल्पाका अधिकांश भु–भाग हिउँले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ।

हिमपातले गर्दा डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा केहि  दिन अबरुद्ध भएको थियाे भने हवाई मैदानमा समेत हिउँ जमेको थियाे ।

तस्विर-  बालकृष्ण डाँगी,जुफाल डाेल्पा