वाइडबडी जहाज खरिदमा करोडौँ भ्रष्टाचार ठहर

नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ। जहाजको खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पर्यटन मन्त्री र दुईजना सचिवलाई निलम्बनको सिफारिस गरेको छ । अनियमितता छानबिनका लागि गठित लेखा समितिअन्तर्गतको उपसमितिले मंगलबार राति अबेरसम्म बसेको बैठकबाट उक्त निष्कर्ष निकालेको हो।

यी हुन कारवाहीका लागि सिफारिसमा परेका मन्त्री तथा सचिवहरु

उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारी हाल राष्ट्रिय सभा सदस्य रहेका पुर्व पर्यटन मन्त्री जीतेन्द्र देव,हाल प्रदेश सभा सदस्य रहेका नेपाली काँग्रेसका नेता जिवन बहादुर शाही । पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र गृह सचिव प्रेमुकमार राईलाई दोषी ठहर गर्दै उपसमितिले निलम्बनको सिफारिस गरेको हो। उपसमितिले कारबाही सिफारिस गरेका पूर्व पर्यटन सचिव शंकर अधिकारीले भने अवकाश पाइसकेका छन्।

दिउँसो ३ बजे सुरू बैठक करिब पाँच घन्टा चलेको थियो। उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ। दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ। उपसमितिको प्रतिवेदनअनुसार अधिकारी पर्यटनमन्त्री भएपछि दुई किस्ताको रकम भुक्तानी पठाइएको थियो।

पर्यटन सचिव वायुसेवा निगमको बोर्ड अध्यक्ष हुने प्रावधान छ। उनीहरूकै अध्यक्षतामा बसेको बैठकले जहाज खरिद गर्दा प्रक्रिया मिचेको र अनियमिततामा साथ दिएको उपसमितिको ठहर छ। उपसमितिले तीनै जना सचिवलाई उत्तरदायित्व वहन नगरेकोमा दोषी ठहर गरेको हो।

उपसमितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि खरिदमा दोषी ठहर गर्दै तत्काल निलम्बन र कारबाही सिफारिस गरेको छ। खरिद प्रक्रियामा कंसाकारको मुख्य भूमिका देखिएको प्रतिवेदनमा छ।