दीपकराज जोशी भन्छन सर्वोच्च जान्छु’
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफू सर्वोच्च जाने बताएका छन् । बुधबार बिहान पत्रकारसंग कुराकानी गर्दै आफू नियमित कामका लागि कार्यालय जाने बताएका हुन् । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई सपथ र स्वागतमा सहभागी नगराउनु भन्ने निर्देशनका बीच जोशीले नियमित कामका लागि सर्वोच्च जाने प्रतिक्रिया दिए ।
जसअनुसार बुधबार बिहान शीतलनिवासमा भएको सपथग्रहणमा जोशी सहभागी भएनन् । सर्वोच्च अदालतमा बिहान ११ बजे चोलेन्द्रको स्वागत कार्यक्रम राखिएको छ । यद्यपि नवनियुक्त प्रधानन्यायाधीश राणाले उक्त स्वागत कार्यक्रममा पनि जोशीलाई ‘प्रवेश नदिन’ कर्मचारीलाई निर्देशन दिएका छन् ।
जोशी उक्त स्वागत कार्यक्रममा पनि सहभागी नहुने बताए । संसदीय सुनुवाई समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै जोशीको प्रधानन्यायाधीश बन्ने बाटो बन्द भएको थियो । उनी वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम गरिरहेका छन् । मंगलबार संसदीय सुनुवाई समितिले जोशीको सम्बन्धमा के गर्नुहुन्छ भनी चोलेन्द्रलाई सोधेको थियो । राणाले ‘मिनी संसदको सम्मान गर्ने’ जवाफ दिएका थिए ।