पत्रकार राजु वस्नेत विरुद्ध सुशीलको यस्तो बकपत्र

यसकारण उजुरी दिएँ

लोकतन्त्रमा पत्रकार र पत्रकारिता दुवैको महत्वपूर्ण भूमिका हुने हामीले पढेको, बुझेको कुरा हो । पत्रकार र पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरंकुश हुनबाट बचाउनुपर्छ । बचाउन सक्छन् । तर, पत्रकारिता नै बरालियो, पत्रकारिता नै बार्गेनिङ, ब्लाकमेलिङको औजार बन्यो भने त्यसले समाजलाई कतातिर लैजान्छ अहिले हाम्रो लागि गम्भीर चिन्ताको विषय हो ।

पत्रकार, पत्रकारिता समाज र सरकारका बीचमा दोहोरो ऐना मानिन्छ । त्यो ऐनामा देखिने कमजोरीबाट नै समाज र सरकारले आफ्नो कमजोरी सुधार्न सक्छ । यसैले पत्रकारितालाई ‘वाचडग’ भनिएको हो । ‘वाचडग’ मानिएको पत्रकारिता नै विकृतिको शिकार भएमा के हुन्छ ? पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गे्निङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ ।

पत्रकार, पत्रकारिताले उत्पीडित वर्ग, समुदायको मुद्धालाई बढी उठाउनु पर्छ, हामीले पढेको, सुनेको र बुझेको हो । धेरै मिडियाले त्यसो गरेको पनि देखिएको हो । तर, केही पत्रकार यो क्षेत्रलाई नै बदनाम गर्ने गरी आफ्नो स्वार्थ सिद्ध गर्न बार्गेङ, ब्लाकमेलिङमा लाग्नु दुःख लाग्दो कुरा हो । पत्रकारिता व्यवसाय हो र सँगै समाज सेवा पनि हो । त्यसैले राजनीति र अन्य क्षेत्रमा काम गरेकाहरु पनि यसमा प्रत्यक्षरअप्रत्यक्ष जोडिएका छन्, हुन्छन । किनभने यो जनतामा जाने सशक्त माध्यम हो ।

पत्रकारिताको प्रमुख दुश्मन भ्रष्ट, अपराधी, बलात्कारी, व्यभिचारी हो र हुनुपर्छ । यसैमा पत्रकारिताको शाख र विश्वास बढ्छ । हामी सचेत पाठक र सामाजिक अभियन्ताले लोकतन्त्र, स्वतन्त्र र स्वाभिमानी पत्रकारितालाई प्रोत्साहन गर्छौं । त्यसमा अगाध विश्वास गर्छौ । पत्रकारिता क्षेत्रमा देखिएको विकृति हटाउने कुरा यस क्षेत्रमा लागेका मुख्यतः पत्रकारकै मुख्य भूमिका हुन्छ । एउटा कुहिएको आलुले बोराको सबै आलुलाई कुहाउँछ भन्ने बोध सबैभन्दा बढी पत्रकारले नै गर्नुपर्छ । सचेत पाठकका हिसावले हामी सहयोगी हुन्छौ र अहिले त्यही सहयोग गरेको हो ।

साइबर क्राइममा मैले उजुरी दिएर गिरफ्तार भएका पत्रकार राजु बस्नेतको विषय सर्वत्र चासो र चर्चा बनेको छ । मैले सिङ्गो पत्रकारिता क्षेत्रलाई अविश्वास हुनबाट यो कदम चाल्न सहयोगी भूमिका खेलेको हो । हाम्रा आस्थाका नेता पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’, राजकाजी महर्जन र हामीलाई जग्गा माफिया, दलाल भनेर उनले लेखिरहेको र त्यो समाचारको पुस्टि गर्न बारम्बार विनम्र अनुरोध गर्दा पनि नगरेपछि केही दिन पहिला उनका विरुद्ध उजुरी दिएको र उनलाई प्रहरीले समातेको हो । प्रेस काउन्सिलको रोहबरमा आइन्दा यस्तो अप्रमाणित, झुट्टो समाचार लेख्दिन भनेर छुटेको अवस्था हो । फेरि त्यही कुरा दृष्टि साप्ताहिकको हवाला दिएर समाचार दिए उनले । वरिष्ठ पत्रकार दाजु शम्भु श्रेष्ठले मलाई गलत ढंगले राजुले दुरुपयोग गरे भनेर बयान दिइसकेका छन् ।

अरुको चरित्र हत्या गरेर समाचार लेखिरहन पाउनु अभिव्यक्ति स्वतन्त्रता भनेर नेपाली कांग्रेस पार्टी र केही पत्रकार लाग्दा उदेक लाग्छ । उनैले पहिले स्वीकारेका झुट्टो समाचार पटकपटक लेख्ने, गल्ती भयो भनेर माफी माग्ने अनि फेरि लेख्ने अनैतिक पत्रकारको विपक्षमा सबै राजनीतिक दल, स्वतन्त्र र स्वाभिमानी पत्रकारिता गर्ने एक ठाउँमा उभिनु पर्छ ।

अरुलाई खाने बाघले मलाई पनि खान्छ भन्ने सोंच्नु प¥यो । हामीले सभ्य, मर्या्दित समाज निर्माणका लागि लडेका होइनौं र ? यस्तो चरित्रहत्या गर्ने समाचार लेख्ने, माफी माग्ने अनि फेरि लेख्ने पत्रकारका विरुद्ध हामी क्षतिपूर्तिसहित अदालतमा मुद्धा दिने तयारीमा छौं । यो सिंगो पत्रकार जगतको नभएर पत्रकारिता क्षेत्रमा देखिएका कुहिएका आलुको विरुद्ध सामाजिक अभियान हो । यसमा स्वतन्त्र, स्वाभिमानी पत्रकार डराउनु पर्दैन । डराउनु हुँदैन ।

लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता हामी सबैको साझा अजेण्डा हो । हामीले यसैका लागि हिजो जोखिमपूर्ण संघर्ष गरेका हौं । समाजमा रहेका विकृतिका विरुद्ध शुद्धीकरण अभियानमा हामी सबै हातेमालो गरेर लडौं ! म त भन्छु यो अभियानमा पत्रकार, पत्रकारिता क्षेत्रमा रहेकाहरुको अगुवाइ हुनुपर्छ । हामी सहयोगी भएर तपाईंहरुको पछिपछि लाग्छौं । पत्रकारिता क्षेत्रलाई मर्यादित, थप विश्वासिलो बनाउन यस क्षेत्रमा रहेकाहरुले आफैंभित्रको विकृतिको विरुद्ध लड्नैपर्छ ।