निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण शुरू

 कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी अधिकारी र घटनामा संलग्न भनिएका अन्य २ जनाको डीएनए परीक्षण शुरू भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै टोलीसमेत गठन गरेको छ। टोलीले एसपी विष्ट, विष्टका छोरा किरण, भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण गर्न रगत पठाएको नेपाल प्रहरीका प्रवक्ता एसएपी शैलेस थापाले बताए। उनले भने, ‘हामीले रगत परीक्षणका लागि पठाइसकेका छौं।’

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक हरिहर वस्तीसहितको टोली डिएनए परीक्षणका लागि गठन गरिएको छ।

घटनाले उग्ररुप लिएपछि गृहमन्त्रीले प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई पठाएका थिए। त्यस्तै गृह मन्त्रालयले कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी र मुद्दामा खटिएका प्रहरी निरीक्षक योगेन्द्र खड्कालाई पनि फिर्ता बोलाएको हो।  गृह मन्त्रालयमा बसेको बैठकले भदौ ९ गते एसपी बिष्टलाई निलम्वन गर्ने निर्णय गरेको थियो।