निर्मला हत्या काण्ड प्रकरण : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् । गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका विरेन्द्र बहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका हुन् ।

समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् । उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे । केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको छलफलपछि उनी पुरानै जिम्मेवारीमा फर्केका हुन्। ज्यानको असुरक्षा भएको भन्दै उनले जिम्मेवारी छाड्दै सुरक्षा माग गरेका थिए। आफ्नो कुरा गृह मन्त्रीसँग राख्न नपाएको गुनासो गर्दै आएका केसीले सुरक्षा खतराको कुरा पनि उठाएका थिए। गृह मन्त्रालयले सुरक्षा दिने आश्वासन दिएपछि उनी काममा फर्किन सकारात्मक भएका हुन्।

आफ्नो कुरा प्रतिवेदनमा नसमेटिने भएपछि राजिनामा दिएको उनले बताउँदै आएका थिए। प्रतिवेदनमा उनको कुरा समेटिने निश्चित भएपछिमात्र उनी फर्किएका हुन्। भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। बलात्कार र हत्या भएको ४७ दिन पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

बलात्कारपछि हत्या अभियोगमा दिलीपसिंह विष्ट पक्राउ परेलगत्तै प्रहरीको अनुसन्धान विवादमा परेको थियो। उनको डिएनए परीक्षण गर्दा दोषी देखिएन। हिजोमात्रै उनलाई अदालतले रिहा गर्‍यो। कञ्चनपुर जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै विष्टलाई रिहा गर्न आदेश दिएको हो। करिब डेढ महिनाको अनुसन्धानसम्म पनि मुख्य अभियुक्त भनिएका व्यक्ति रिहासँगै प्रहरी अनुसन्धान पुनः शून्यमा पुगेको छ।