फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर

बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।

बुधबार सिसडोल पुगेका ८० ट्रक हिलोबाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए ।

कामपाको ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठ्न छाडेको महानगरका कर्मचारीहरू बताउँछन् । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । श्रेष्ठका अनुसार पुरानो बाटो बन्न नसकेपछि नयाँ ट्र्याक खोलेर फोहोरमाथि माटो छापेर फोहोर खन्याउने गरिएको थियो ।