पहिला छातीमा ताकीताकी गोली, पछी सलामी

सहिद घोषणापछि खुनाको महाकालीमा यसरी गरियाे अन्त्येष्टी

प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय खुनाको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा महेन्द्रनगरमा भएको प्रदर्शनमाथि प्रहरीले प्रहार गरेको गोली लागेर खुनाको मृत्यु भएको हो । तर, उनी प्रदर्शनमा नभएर आफूले गरेको मजदूरीको पैसा लिन ठेकेदारलाई भेट्न जान लागेका थिए । सन्नीसँगै उमेश खुनालाई सुजित बङ्गालीले मार्बल लगाउने काममा लगाएका थिए ।

निर्दोष खुनालाई प्रहरीले ताकेर गोली प्रहार गर्दा शुक्रबार करिब साँझ ५ बजे ट्राफिक चोकमा ढलेका थिए । उनको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा एक घण्टापछि मृत्यु भएको थियो । खुनाको खुट्टा र छातीमा गोली लागेको थियो । सहिद घोषणा गर्दै आफन्तले शव उठाएका थिएनन् । सरकारले घोषणा गरेपछि आइतबार खुनाको महाकालीमा अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको हो ।

अन्त्येष्टीमा प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, बेदकोटका मेयर अशोक कुमार चन्दले मृतक खुनाको पार्थिक शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर मौन धारणा गरेका थिए । खुनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । पहिला ताकेर छातीमा गोली हान्ने प्रहरीले ‘शहिद शोक सलामी’ अपर्ण गरेको थियो ।

महेन्द्रनगरमा कफ्र्युका कारण अन्तिम संस्कारमा आफन्त, भीमदत्त नगरका कर्मचारी, पदाधिकारी र केही स्थानीय मात्रै सहभागी थिए । मृतक खुनाका बाबु बीर खुना भीमदत्त नगरपालिकाका कर्मचारी हुन् । खुना परिवारलाई भीमदत्त नगरले ३ लाख राहत दिने घोषणा गरेको थियो ।

त्यसअघि बिहीबार प्रहरीले चलाएको गोली लागेर घाईते भएका भीमदत्त नगर–४ का अर्जुन भण्डारा र शुक्रबार गोली लागेर घाईते भएका भीमदत्त नगर–१ भाँसीका उमेश देउवाको काठमाडौंमा उपचार भईरहेको छ ।