पाकिस्तानी प्रम खानद्वारा सरकारी सञ्चार माध्यमलाई पूर्ण स्वतन्त्रता प्रदान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकारी सञ्चार माध्यमहरुलाई पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेका छन्। यसअघि राज्यद्वारा सञ्चालित पाकिस्तान टेलिभिजन र रेडियो पाकिस्तानमाथि राज्यको संयन्त्र हावी हुँदा त्यसले पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति गर्न पाएका थिएनन्।

पाकिस्तानका सञ्चारमन्त्री फवाद चौधरीले बुधबार ट्वीटरमार्फत् ‘पाकिस्तानका संचार माध्यमहरुले पूर्ण रुपमा प्रेस स्वतन्त्रताको आभास पाउने’ घोषणा गरेका हुन्। मन्त्री चौधरीले प्रधानमन्त्री इमरान खानको यस निर्णयसँगै ३ महिनाभित्र सञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति देखिने समेत बताएका छन्।

यसअघिको सरकारले पाकिस्तानको सरकारी सञ्चार माध्यमलाई स्वतन्त्रता दिने वाचा गरेतापनि कार्यान्वयनमा कहिल्यै आएको थिएन। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व कप्तानसमेत रहेका प्रधानमन्त्री खानको यस कार्यलाई पाकिस्तानभर प्रशंसा गरिएको छ।

यसअघि प्रधानमन्त्री भएलगत्तै पनि खानले प्रधानमन्त्री निवासमा नबस्ने र त्यहाँका कर्मचारी कटौती गर्ने निर्णय गरेका थिए। त्यस बापत आएको रकम राज्य कोषमा जम्मागरी विकासका लागि खर्च गर्ने घोषणा गरेका थिए।