बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। शनिबार महिला अधिकारका अभियन्ताहरूले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ।

बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रण भित्रै पनि उनीहरूले नाराबाजी गरिरहेका थिए। प्रदर्शनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेस्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ।

संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, बलात्कार विरुद्ध संयुक्त र्‍यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन्।

उनीहरूले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन्। मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन्। विशेष गरेर नयाँ पुस्ताका युवायुवतीहरूले सामाजिक सञ्जालमार्फत् नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन्।

मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुँदै आएका युवायुवतीको उपस्थिति थियो। भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रदर्शन गर्नेलाई पनि कानूनी कारबाही हुने व्यवस्था छ।