भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो।

२५ डिसेम्बर, १९२४ मा मध्य प्रदेशको ग्वालियरमा जन्मिएका अटल विहारी वाजपेयी भारतीय जनसंघको स्थापना गर्नेमध्येका एक हुन्। १९६८ देखि १९७३ सम्म उनी त्यसको अध्यक्ष पनि रहे। सन् १९५७ मा उत्तर प्रदेशको गोण्डा जिल्लाको बलरामपुरबाट जनसंघका तर्फबाट उनी पहिलो पटक लोकसभामा विजयी भएका थिए। सन १९७७ देखि मोरारजी देसाईको सरकारमा परराष्ट्रमन्त्री बनेपछि विश्व परिवेशमा भारतको छवि सुधार गर्न महत्वपूर्ण योगदान दिएको मानिन्छ।

१९८० मा जनता पार्टीदेखि असन्तुष्ट भएर उनले भारतीय जनता पार्टीको स्थापना गरी अध्यक्ष बने भने सन् १९९७ मा प्रथम पटक तर छोटो समयका लागि भारतको प्रधानमन्त्री पनि बनेका थिए। लगत्तै अप्रिल, १९९८ मा १३ दलको गठवन्धन बनाई ५ वर्ष भारतको प्रधामन्त्री बनेका थिए। आजीवन अविवाहित बाजपेयीलाई १ सय वर्ष पुरानो कावेरी जल विवाद सुल्झाएकामा धेरै भारतीयले स्मरण गर्दछन्। भारतको प्रविधि क्षेत्रको विकासका लागि बाजपेयीले ठूलो योगदान गरेको मानिन्छ।

राष्ट्रिय राजमार्गहरू एवं एयरपोर्ट निर्माण तथा विस्तार नयाँ टेलिकम नीति तथा भारतीय रेलवे सुधारआदि क्षेत्रमा वाजपेयीले विशेष योगदान गरेका थिए। राजीतिक स्थिरता विकासका लागि पनि वाजपेयीलाई भारतीय जनताले संझिरहने व्यक्ति हुन्। उनले अहिले राजनीतिबाट सन्यास लिएर बसेका थिए।

राजनीतिका अतिरिक्त बाजपेयीको सकृयता साहित्य र पत्रकारितामा पनि रहेको थियो। उनले राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुनजस्ता राष्ट्रिय भावनायुक्त पत्रपत्रिकाहरूको सम्पादन गरेका थिए। अतिरिक्त उनी एक ओजस्वी एवं प्रस्टवक्ता एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्।

बाजपेयीले कानपुरको डीएवी कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधी हासिल गरेका थिए। सन २००४ को लोकसभा चुनावमा भाजपाका नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले वाजपेयीका नेतृत्वमा चुनाव लड्यो र भारत उदय (इण्डिया शाइनिंग)को नारा दियो। यस चुनावमा कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएन। यस्तो स्थितिमा वामपंथी दलहरूको समर्थन लिएर कांग्रेसले भारतको केन्द्रीय सरकारको नेतृत्व लिएको थियो भने विहारीको भाजपा विपक्षमा पुगेका थिए।