जोशी बिदामा बस्ने, अब ओमप्रकाश मिश्रले पेशी तोक्ने

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेशी तोक्ने भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बैठकबाट दुईतिहाई बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी भोलि (आइतवार) देखि १५ दिने बिदामा बस्ने भएपछि मिश्रले सर्वोच्चको दैनिक पेशी तोक्ने भएका छन् ।

सुनुवाइ समितिको बैठकबाट अस्वीकृत भएपनि जोशीले राजीनामा नदिने मनस्थिति बनाएका छन् । उनी राजीनामा नदिइ १५ दिन बिदामा बस्ने तयारीमा रहेकोे सर्वोच्च अदालत उच्च स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । ‘भोलि (आइतवार) राष्ट्रपतिलाई भेटेर १५ दिनको बिदा लिने तयारीमा जोशी छन्,’ स्रोतले भन्यो ।

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि जोशी कायममुकायम प्रधानन्याधीशको हैसियतममा रहने छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशीले राजीनामा दिने धेरैले अनुमान गरेका थिए । तर, उनले राजीनामाको विकल्पमा लामो बिदा रोजेको स्रोतको दाबी छ ।

न्यायपरिषद्ले दीपकराज जोशीसँगै न्यायाधीश द्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । अब सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गरिएको जानकारी संवैधानिक परिषद्लाई गराउने छ ।

त्यसपछि परिषद्ले अर्को नाम सुनुवाइका लागि पठाउने छ । संवैधानिक परिषद्ले न्यायपरिषद्बाट जोशीसँगै सिफारिस गरेका मिश्र वा राणामध्ये एकको नाम सिफारिस गर्नेछ । सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तिमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने व्यवस्था संविधानको धारा १२९ को उपधारा ३ मा गरिएको छ ।