हत्या अभियोग लागेका राज्यमन्त्री शर्मालाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश

२ नम्बर प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा लगायत हत्या घटनाका अभियुक्तलाई अविलम्ब पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ । अदालतले प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख (मेयर) रामशंकर मिश्र लगायतका प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको हो ।

महोत्तरीको जलेश्वरमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत महोत्तरीबाट आदेश भएपनि जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा कार्यालय प्रमुखले प्रतिवादीलाई पक्राउ नगरेका कारण अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश द्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयु्क्त इजलासले साउन १५ गते गरेको परमादेशको आदेशमा भनिएको छ, ‘न्यायपूर्ण समाजको स्थापनाको लागि शान्ति सुरक्षा र अमनचैन कायम गर्ने जिम्मेवारी लिएको सक्षम निकायले आफैंद्वारा अभियोजित कर्तव्य ज्यानजस्तो मुद्दाका प्रतिवादीलाई आफ्नै अगाडि खुलेयाम रहेको स्थितिलाई नजरअन्दाज गर्नुलाई कानूनको धज्जी उडेको, दण्डहीनताले प्रश्रय पाएको, कानूनको अगाडि सबै समान नरहेको एवं राज्य व्यवस्थाले गति नलिएको अर्थमा समाजले हेर्ने हुँदा कानून परिपालनाको लागि अदालतबाट वारेन्ट जारी भएका उल्लेखित प्रतिवादीहरूलाई अबिलम्ब पक्राउ गरी कारवाहीको लागि महोत्तरी जिल्ला अदालत समक्ष उपस्थित गराउनु भनि विपक्षी जिल्ला प्रहरी कार्यालय महोत्तरी र सोको प्रमुखको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

घटनामा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रिय नेताहरू सुरेश पाण्डे, देवेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका नेता लक्ष्मी महतो लगायतका प्रतिवादी रहेका छन् । उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले भने, ‘साउन १५ गते परमादेश आएको भएपनि आज बिहीवार मात्रै आदेशको पूर्णपाठ आएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई तत्कालै अदालतको परमादेशको फैसला लेखेर पठाउने छौं ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्र पाएलगत्तै फरार रहेका ती प्रतिवादीलाई पक्राउ गर्नुपर्ने कार्की बताउँछन् । प्रदेश राज्यमन्त्री भएपछि शर्मा सशस्त्र प्रहरी बलका कर्मचारीको सुरक्षामा रहेका छन् ।