डा. केसीका पक्षमा प्रदर्शन

माग पूरा नभए देशमा आगो बल्छ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

२२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शनको आयोजना गरिएको छ । डा. केसीका समर्थकहरुले डा. केसीको जीवन रक्षा, चिकित्सा शिक्षा विधेयक फिर्ताको पक्षामा नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको विरोधमा समेत नारावाजी गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै तीन सातादेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा बृहद् प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शनमा राजनीतिज्ञ, लेखक, पूर्वप्रशासक, नागरिक समाजका अगुवा र ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।

चिकित्सा क्षेत्र सुधारमा डा. केसीका मागप्रति सरकारले बेवास्ता गरेको र माफियालाई संरक्षण गरेको भन्दै प्रदर्शनकारीले सरकारको आलोचना गरेका छन्। बानेश्वर चोकमा भएको कोणसभामा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. केसीको आन्दोलन कुनै राजनीतिक पार्टीको समर्थनमा नभएको बताउँदै सरकारी रवैयाको अन्त्य नभए सडकमा आगो बल्ने चेतावनी दिइन्।

‘म सरकारसँग अनुरोध गर्दछु, डा. केसी कुनै दलका कार्यकर्ता होइनन्। डा. केसीले जनताको आवाज बोलेका छन्। केसीले काम गरेको जनताका लागि हो। केसीले मरेर जाँदा केही लाँदैनन्,’ कार्कीले भनिन्, ‘उनी अमरत्व प्राप्त गरिसकेका व्यक्तित्व हुन्। म यो सरकारसँग फेरि अनुरोध गर्न चाहन्छु, उहाँको माग पूरा गर्नैपर्छ।’

ठेकेदारहरूलाई मोटो बनाएर समाजवाद नआउने भन्दै कार्कीले निर्वाचनका बेला प्रतिबद्धतासहित जारी भएको घोषणापत्रका वाचा पूरा गर्न सरकारसँग आग्रह गरिन्। ‘घोषणापत्रमा जनतालाई शिक्षा स्वास्थ्य सर्वसुलभ गराउने भन्ने थियो। डा. केसीले अहिले त्यही माग राख्नुभएको छ,’ कार्कीले भनिन्, ‘स्वास्थ्यमा सबैको पहुँच पु¥याउने हो भने गरीबलाई डाक्टर पढाउनुपर्छ। उनले यही भनेका हुन्।’

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले वर्तमान सरकारले चार महिनामै ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको बताए। ‘ओली सरकार इतिहासमा सबैभन्दा बढी अलोकप्रिय र बदनाम भएको छ। डा. केसी सत्यग्राही हुनुहुन्छ, सामाजिक अभियानमा बोलिरहनु भएको छ। उहाँका पक्षमा हामी उत्रिएका छौं,’ संग्रौलाले भने।

उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल लोकतन्त्रका लागि लडेर आएका भए पनि अहिले आफैले तानाशाहीको अभ्यास गर्न खोजेको भन्दै नेकपा नेतृत्वको आलोचना समेत गरे। ‘गोविन्द केसीका मागहरू समाजवादतर्फ डो¥याउने मागहरू हुन्,’ उनले भने, ‘आफूलाई समाजवादी भन्नेहरूले नै केसीका मागलाई अपराधका रूपमा लिएका छन्।’

मानवअधिकारकर्मी कृष्ण पहाडीले प्राध्यापक केसीको सत्याग्रहसँग आफूहरू सामूहिक सत्याग्रहमा जान सक्ने चेतावनी दिए। उनले सरकार विधिको शासनविरोधी रहेको, नागरिकको स्वाभिमान गिराएको, दोषी र अपराधी ठहर गरेका व्यक्तिलाई कैद मिनाहा गरेको लगायत पाँचवटा आरोप समेत लगाए।

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, शिक्षाविद् केदारभक्त माथेमा, अभिनेत्री मनिषा कोइराला र करिश्मा मानन्धर, नागरिक अगुवा श्याम श्रेष्ठलगायतले प्रदर्शनको नेतृत्व गरेका थिए।