काठमाडौंमा मात्रै एक वर्षमा ९ हजार जना पक्राउ, बलात्कार र साईबर अपराध बढ्यो

अपराधमा नियन्त्रणमा प्रगति

प्रहरीले काठमाडौंबाट एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न ९ हजार १ सय २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा विभिन्न शीर्षकमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएका थिए। प्रहरी परिसर काठमाडौंको तथ्यांक अनुसार गएको अघिल्लो वर्ष भन्दा आर्थिक वर्षमा ३३ प्रतिशतले मुद्दा दर्ता सङ्ख्या बढी हो।

प्रहरीका अनुसार मुद्दा दर्ता सङ्ख्या बढ्नुमा अपराधमा नियन्त्रणमा प्रगति भएको मानिन्छ। प्रहरीको सक्रियता बढेकाले गएका वर्षभन्दा आर्थिक वर्षमा मुद्दा दर्ता सङ्ख्या बढेको हो । दर्ता भएका मुद्दामध्ये सबै भन्दा बढी सार्वजनिक अपराध अन्तर्गतका छन्। एक वर्षको अवधिमा ३ हजार ७ सय ८३ वटा सार्वजनिक मुद्दा दर्ता भएका छन्। गएको अघिल्लो वर्षमा सार्वजानिक अपराधका मुद्दा २ हजार २ सय ६९ वटा दर्ता भएका थिए।

प्रहरी सक्रियता भएकै कारण काठमाडौंमा अपराध नियन्त्रणमा सुधार आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी गराए। तथ्याङ्क सार्वजनिक गर्दै शुक्रबार एसएसपी पोखरेलले भने, ‘समाजलाई नै भयवित बनाउने र त्राशित बनाउने जस्ता अपराध कम भएको छ, यद्यपी समाजमा केही सामान्य अपराध भने हुने गरेका छन्।’

उनका अनुसार काठमाडौंमा ज्यान मार्ने उद्योग, डाँका चोरी, अपहरण तथा शरीर बन्धक, संगठित अपराध, मानव बेचविचन तथा ओसारपसार लगायतका घटनामा कमी आएको छ। त्यसैगरी साइवर क्राइम, जवरजस्ती करणी, कर्तव्य ज्यान, लागूऔषध लगायतका मुद्दा बढेको प्रहरी तथ्यांकले देखाएको छ।

काठमाडौंमा पछिल्लो समयमा बलात्कार, साईबर क्राईम र लागूऔषध सम्बन्धी अपराध बढेको प्रहरी तथ्याङ्कले जनाएको छ। आर्थिक वर्ष २०७३/७४ मा २७ वटा जवरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएकोमा गएको आर्थिक वर्षमा बढेर ४४ वटा पुगेको छ।

त्यसैगरी जवरजस्ती करणी पनि १११ बाट बढेर १४५ पुगेको छ। लागूऔषध मुद्दा पनि ठूलो संख्याले वृद्धि भएको छ। गएको आर्थिक वर्षमा ३८८ वटा मुद्दा दर्ता भएका थिए। मेडिकल हलहरूमा बेचविचन हुने लागूऔषधी अहिले सबैभन्दा समाजको लागि खतरनाक भएको प्रहरी दाबी छ।

‘मेडिकलमा बेचिने लागूऔषधको मात्रा बढी देखिएको छ,’ एसएसपी पोखरेलले भने, ‘मेडिकलका आवरणमा लागूऔषधको कारोबार भएको देखियो, हामीले त्यस्ता संचालकलाई नियन्त्रणमा लिएर कारवाही गरेका छौं।’ त्यसैगरी बैदेशिक रोजगारी ठगी, किर्ते लगाएतका ठगीहरू पनि बढेको छ।

त्यसैगरी गुण्डागर्दीमा संलग्न ३५ जनालाई नियन्त्रणमा लिएर कारवाही थालेको प्रहरीले जनाएको छ। प्रहरी सक्रियताका कारण पछिल्लो समयमा काठमाडौंको शान्ति सुरक्षामा सुधार आएको भन्दै यसलाई झनै मजबुद पार्ने एसएसपी पोखरेलले बताए।