अनसनरत डा केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना गरेका छन् ।

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘ त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । ’

उनले आफ्नो सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमारहेका नेपालीहरूप्रति आभार व्यक्त गर्दै जुम्लामा आज प्रहरीसँग भएको झडपमा घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले घटनाका दोषीहरूलाई कारवाहीको माग समेत गरेका छन् । केसीलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गर्ने क्रममा भएको झडपमा केसी समर्थक एक दर्जन घाइते हुनुका साथै एक प्रहरीसमेत गम्भीर घाइते भएका थिए ।

केसीले आफ्नो माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने बताउँदै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि आह्वान समेत गरेका छन् । यसैबीच केसीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न बिहिबार साँझ नै साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइराला अस्पताल पुगेका थिए ।

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू,

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु ।

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।

प्रा.डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
२०७५/४/३