पहिरोले चार घर विस्थापित

चाैतारा,अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन्। विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

गत बिहीबार राति परेको पानीसँगै माथिबाट लेदो बगेर आएको र तलबाट पहिरोले तानेपछि अन्य सात घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर खड्काले बताए। यस्तै बिहीबारदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

भोटेकोशी गाउँपालिका–२ स्थित दश किलो भन्ने स्थानमा भोटेकोशी नदीको करीब ७० मिटर सडक कटान गरेकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। त्यस क्षेत्रमा दैनिक पानी परेकाले नदीको वहाव वढी रहेको हुदा काम गर्न समस्या उत्पन्न भएको छ। भित्तो काटेर सडक बनाउन माथि रहेको वस्ती जोखिममा पर्ने हुँदा त्यसलाई समेत ध्यानमा राखी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।