पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्किने वित्तिकै पक्राउ

पासपोर्ट समेत जफत

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । जेल सजायँको फैसला सुनाइएका पूर्वप्रधानमन्त्री नवाज शरीफ बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई इस्लामावाद लगिएको छ भने पासपोर्ट पनि जफत गरिएको छ ।

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्किएका हुन् ।  आसन्न निर्वाचनको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा एकैदिन भएका छुट्टा छुट्टै घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको दिन शरीफ स्वदेश फर्किएका हुन् । 

पाकिस्तानमा यही जुलाई २५ तारिखका दिन निर्वाचन हुन लागेको छ ।  भ्रष्टाचार गरेको अभियोगमा उनलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए ।

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो । पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो ।