आठ डिआइजी अवकाशमा, तीन एआइजीका लागि पाँच जनाको प्रतिस्पर्धा

नेपाल प्रहरीका उच्च तहका १० प्रहरी अधिकारीले अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण आठ जना डिआइजी र दुई जना एसएसपीले अवकास पाएका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अवकास पाउनेहरुमा डिआइजीहरु छविलाल जोशी, उत्तमकुमार कार्की, पवन प्रसाद खरेल, ज्ञानविक्रम शाह, रविन्द्रप्रसाद शर्मा, प्रेम चन्द, शरद चन्द र श्याम खडका रहेका छन्। एसएसपीहरुमा भने श्यामबहादुर खत्री र मोहनराज जोशी हुन्।

एसएसपी श्यामबहादुर खत्री भने ३३ किलो सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षको लागि क्षेत्रीय कारागार झुम्कामा थुनामा छन्। उनीहरु २०४५ असार २९ गते प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका थिए। डिआइजीबाट एआइजीको बढुवा लाइनमा रहेका उनीहरु समयमा नै एआइजी बढुवा हुन नसक्दा डिआइजीबाटै अवकाश पाएका हुन्।

समयमा नै एआइजी बढुवा भएको भए केही समय उनीहरुमध्येका कसैले एआइजी भएर अवकास पाउने अवसर पाउँथे। सरकारले एआइजीमा तीन जनाको मात्र दरबन्दी तोकेको छ। बाँकी रहेका पाँच जना डिआइजीहरु अब एआइजीको दावेदार बनेका छन्। एआइजीको लाइनमा डिआइजी पुष्कर कार्की, ठुले राई, मनोज नेउपाने, धिरु बस्नेत र सुरेन्द्र विक्रम शाही रहनेछन्।