सरकारसंग सडक भत्किएको रेकर्ड छैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सडक भत्किएको रेकर्ड नै नभएको बताएका छन्। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले दशौं वर्षदेखि बनेका खाल्डा सडकमा रहेको बताए। उनले सरकारमा आएको चार पाँच महिना भित्र सलल हिँड्ने बाटो बनाइसक्नुपर्ने अपेक्षा सांसदहरुले राखेकोमा धन्यवाद दिए।

‘चार पाँच महिनामा सकिएन। दशौं वर्षदेखि बनाएका खाल्डा छन्। बाटो छ। पिचमाथि खोलो बग्छ। पोहोरकै साल ढलमा परेर बच्चा बग्यो’, ओलीले भने, ‘त्यसलाई रोक्न खोजेका छौँ। भौतिक योजना मन्त्री अगाडि (राष्ट्रिय सभा बैठकमा) हुनुहुन्छ। मैले निर्देशन दिएको छु, पानी जमेको ठाउँको निकास मन्त्रालयले गरोस्।’

उनले सडकको खाल्डा पुर्न ध्यानाकर्षण गराएकोमा सांसदहरुलाई धन्यवाद दिए। ‘सरकार प्रति असाधारण विश्वास व्यक्त गर्नुभएको छ। तर चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ भन्ने सीमा हुन्छ। कहाँ कहाँ भत्किएको रेकर्ड पनि छैन’, ओलीले भने, ‘अदालतको स्टे अर्डरले पनि हैरान पारेको छ।

बाटो बनाउन गयो… सम्मानित अदालतको फैसला सम्मान गर्नैपर्‍यो।’ ओलीले सडक, पानी र ढलका निम्ति सडक बनाउने र बिगार्ने काम हुने गरेको उल्लेख गर्दै समन्वयको प्रयास भइरहेको बताए।