म बिनाको दशैँ र आमा

कविता

लेखक

आमा …..
हामिले घाम किन लागेन भनि
बादललार्इ सराप्नु अघि यो बुझ्नुपर्छ
पानी किन पर्नु पर्छ ?
अर्थ लगाउन सजिलो छ
बस  
जिन्दगी ”घाम पानी ” हो भनेर

तर
यथार्थको घर्तिमा टेकेर
कल्पना बाहिरको कुरा गर्दा
साच्चै मन बुझाउन गारो हुदो हो
मेरी आमालाइ
केहि बर्ष अघि छिट्टै फर्किन्छु भनि
मुग्लान गएको छोरा भन्दा पहिला
घरको ढोकामै आइ पुग्दा ‘दशैँ’

तर आमा
मलाइ हिजै जस्तो लाग्छ
निधारमा टाँसिएका राता कनिका
कानमा सिउरीदिएका पहेँला जमरा
र फुलपातिकै दिन हुन
रारा र फेवा जस्तै भरियका गहहरु
आज भन्दा ठिक ५ बर्स अघि हल्लिएका हुन
हाम्रा बिदाइका हातहरु ।

मलाइ थाहा छ
जानेहरुको आत्माले पनि बुझ्छ
पर्खिनेहरुको पिडा !
कति अकल्पनीय हुन्छ भनेर
जसरी शरिरको चोट बुझ्छ यो मनले
फरक यति हो
जाने हरुको फर्किने टुङ्गो हुदैन
पर्खिनेहरुको कहिल्यै भरोसा हुदैन ।

म बिस्वस्त छु आमा
भलै गुन्द्रुकमा जिराको स्वाद कम होला
तर
बिर्सिने छैन नुनले आफ्नो घर्म र कर्म
गर्ने छैन भेदभाव र हुने छैन अलुनो छाक
यस पालिको दसैमा केहि खर्च पठाको छु
त्यसैले घर काम चलाउनु होला
किनकि
जिन्दगीमा सबै थोक बार्नु जायज छ
तर नुन कदापि बार्नु हुदैन आमा
त्यसैले 
हो म त्यै नुनका लागि
खुन बेचि रहेकोछु परदेशमा

आमा
म नहुदा पनि मेरो सम्झनामा
सदा जस्तै
गाउने छ कोहिलिले मधुर गित
र ढल्नेछ दिन आफ्नै समयको गतिमा
अस्ताउने छ गोधुलिमा घाम
झर्ने छ एक अँजुली वर्षा
र खुल्ने छ उषाको किरण बिहानमा
उसैगरी
यो पटक पनि
निलो कन्चन आकाशमा
एक जोर चन्द्रसुर्यले
मनाउलान उत्सब बिजय दशमिको
र बलिरहेको दियोले बताउनेछ कुशल सन्देश
मेरी आमालार्इ
म नहुदा पनि मेरो सम्झननामा

 मुगु
हाल :- दक्षिण कोरिया