अबको दुई महिनाभित्र ट्रायल पास गरेकाले लाइसेन्स पाउने

अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) पाउने भएका छन्। यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ। हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करिब ३ लाख छ। ९ महिनाअघि नै ट्रायल पास गरेर पनि लाइसेन्स नपाउनेहरु पनि छन्।

स्मार्टकार्डको अभाव भएकै कारण ट्रायल पास गरेको ८/९ महिना हुँदासम्म पनि लाइसेन्स वितरण हुन नसकेको हो। विभागका प्रवक्ता तुल्सीराम अर्यालले हाल चार वटा प्रिन्टरबाट लाइसेन्स प्रिन्ट भइरहेको र थपिएका ४ वटा पनि केही दिनमै संचालनमा आउने भएकाले लाइसेन्सको समस्या अब नरहने दावी गरे।

विभागले हालै थप चार वटा नयाँ प्रिन्टर ल्याएको छ। हाल संचालनमा रहेका चार प्रिन्टरले दैनिक करिब २ हजार स्मार्टकार्ड प्रिन्ट भइरहेको विभागले जनाएको छ। विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोखरेलका अनुसार केही दिनमै थप चार प्रिन्टर समेत संचालनमा आएपछि दैनिक ६ हजारका दरले कार्ड छपाई हुनेछ। ‘पुराना चार प्रिन्टरबाट दैनिक २ हजार र थपिएका नयाँ चार प्रिन्टरबाट दैनिक ४ हजारका दरले कार्ड छपाई हुनेछ’ उनले भने।

नयाँ प्रिन्टर जडानमा प्राविधिक समस्या देखिएपछि ति संचालनमा आउन सकेका छैनन्। विभागले भारतबाट विज्ञहरु ल्याएर ति प्रिन्टर जडान गर्नेछ। रातिको समयमा पनि कार्ड प्रिन्ट गर्ने तयारी भएको विभागले जनाएको छ। रातिको समयमा पनि कार्ड प्रिन्ट गरिएमा दैनिक १० हजार कार्ड छपाई हुनेछ। असार महिनाभर नयाँ ट्रायल परीक्षा नलिइएकाले यो महिना संख्या थपिने छैन। राजश्व हिसावकितावको मिलान तथा पुराना फारम सक्नुपर्ने भन्दै विभागले असार मसान्तसम्म ट्रायल स्थगन गरेको छ।