विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि ९२ औं मिनेटमा किम योंग गोन र सन होंग मिनले ९६ औं मिनेटमा गोल गरे । जर्मनीलाई हराएपनि मात्र तीन अंक जोड्दै कोरिया पनि विश्वकपबाट बाहिरियो ।

नकआउट चरणमा पुग्नको लागि कोरियाविरुद्धको आजको खेल जित्नुपर्ने दबाबमा जर्मनी थियो । यस्तै कोरियासँग बराबरी भएको अवस्थामा स्वीडेन र मेक्सिको बीचको खेल पनि निर्णायक थियो । तर स्वीडेनले मेक्सिकोलाई ३–० ले हराएसँगै त्यो बाटो पनि बन्द भयो ।

योसँगै समान ६ अंक जोड्दै समूह एफबाट मेक्सिको र स्वीडेन नकआउट चरणमा पुगेका छन् । जर्मनीले भने समूह चरणको १ खेलमात्रै जितेर घर फर्कियो ।