पोर्चुगल इरानसँग बराबरी, अन्तिम १६ मा

स्पेन समूह विजेता, पोर्चुगल उपविजेता

समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता भएको हो।

समूहको अर्को खेलमा पोर्चुगलले ईरानसँग बराबरी खेलेपछि स्पेन समूह विजेताको हैसियतामा प्रि क्वार्टरफाईनलमा स्थान बनाएको हो। खेलमा सुरुवाती अग्रता मोरक्कोले १४ औं मिनेटमा खालिद बाउटेबले गोलबाट लिएको थियो।

इश्कोले १९ औ मिनेटमा बराबरी गोल फर्काएको खेल पहिलो हाफसम्म १-१ गोलको बराबरी थियो। खेल सकिन ९ मिनेट अगाडि युसुफ एन नासरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाएका थिए। तर इन्जुरी समयको पहिलो मिनेटमा इयागो आसपसले गोल गर्दै मोरक्कोसँग अंक खोस्न सफल भए।

यता अर्को खेलमा पोर्चुगल इरानसँग १-१ को बराबरी खेल्दै उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इरानले १-१ गोलको बराबरीमा रोकेपछि पोर्चुगल ५ अंकसहित समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

मोर्डोभिया एरिनामा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल बराबरीमा रोकियो। खेलको ५३ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन्। रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका थिए।

इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५ – ५ गोलको बराबरी गर्ने मौका गुमाएका छन्। रोनाल्डोले अहिलेसम्म ४ गोल गरेका छन्।

रोनाल्डो पेनाल्टीमा चुक्नुअघि रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए थिए। तर, खेलको इन्जुरी समयमा इरानका करिम अन्सारीफ्रेडले पेनाल्टीमा गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याएका थिए।

स्पेनले ३ खेलबाट ५ अंक जोड्दै समूह विजेता बन्यो। समान अंक र समान गोल अन्तर भएपछि अनुसाशनका आधारमा पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुगेको हो। एसियाली मुलुक इरान ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। मोरक्कोले एक अंक सहित प्रतियोगितालाई सुखद विदाई गर्‍यो। अब पोर्चुगलले अन्तिम १६ मा उरूग्वे र स्पेनले घरेलु टोली रूससँग खेल्ने छ ।